भद्रपुर । विगत लामो समयदेखि प्रयोगविहीन बनेको भद्रपुर ५ स्थित मेची किनारमा रहेको सार्वजनिक मलामी विश्राम भवनलाई सशस्त्र प्रहरीले सदुपयोग गर्दै त्यही भवनमा बिओपी स्थापना गरेको छ । 

भद्रपुर नाकालाई लक्षित गरी अस्थायी रुपमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट आइतबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका डिआइजी वंशीराज दाहाल र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले उद्घाटन गरेका छन् । 

पाठामारी, ज्यामिरगढी र भद्रपुर गरी झापामा यसबर्ष तीन वटा नयाँ बिओपी स्थापना भइसकेको डिआइजी दाहालले बताए । उनका अनुसार हाल देशभर ११४ वटा बिओपी रहेको छ । सरकारको सीमा सुरक्षा योजना बमोजिम यस आर्थिक वर्षमा थप ११४ वटा बिओपी स्थापना गरी २२१ वटा पु¥याउने लक्ष्य रहेको उनले बताए । 

भद्रपुरसहित देशभर हालसम्म २०० वटा बिओपी स्थापना भइसकेको बताए । प्रदेश नम्बर १ मा ५० वटा बिओपी पु¥याउने लक्ष्य रहेको उनले जनाए । हाल सम्म प्रदेश एकमा ४२ वटा बिओपी स्थापना भइसकेको उनको भनाइ छ । ८ वटा बिओपी स्थापना गर्ने क्रममा रहेको उनले बताए । बाँकी सबै बिओपी झापामा स्थापना गरिने उनको भनाई छ । 

त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले १४४ दशमलव २ किलोमिटर जिल्लाको खुल्ला सीमाबाट हुने आपराधिक क्रियाकलाप, अतिक्रमण, चोरी निकासी जस्ता कार्य रोक्न स्थापना गरिएको बिओपीले सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । 

त्यस्तै जिल्लामा सशस्त्र प्रहरीले बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर, केचना, घेराबारी, भागडुब्बा, कुञ्जीवारि, गौरीगञ्ज, टाघनडुब्बा, पाठामारी, ज्यामिरगढी र भद्रपुरमा बिओपी स्थापना गरिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । तिरिङ, नकलबन्दा, सतीघट्टा, महेशपुर, पन्थपाडा र गौरदाहको आँपगाछीमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको उनले बताए । 

भद्रपुर स्थापना गरिएको अस्थायी बिओपीलाई स्थायित्व दिनलाई मेची पुल पारी भद्रपुर नगरपालिका कार्यालयले एक विगहा जमिन दिने निर्णय गरिसकेको र त्यसको प्रक्रिया सुरु भइसकेको बिओपी भद्रपुरका सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले जानकारी दिए । बिओपी स्थापना भएसँगै भद्रपुर भन्सार तथा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी गणबाटै आउनु पर्ने बाध्यता समेत टरेको उनको भनाई छ । 

मलामी विश्राम भवनमा सशस्त्र प्रहरी

मेची नदीमा दाहसंस्कार गर्न जाने मलामीलाई लक्षित गरी नगरवासीहरूबाट सङ्कलित लाखौँ रुपैयाँको लागतमा निर्माण गरिएको सार्वजनिक मलामी विश्राम भवन विगत लामो समयदेखि प्रयोगविहीन अवस्था थियो ।

०६४ सालमा भद्रपुरका उद्योगी पशुराम अग्रवालको संयोजकत्वमा मलामी भवन निर्माण समिति गठन गरी भवन निर्माण गरिएको थियो । लगभग १३ लाख ९५ हजार लागतमा १४ वर्ष अघि निर्माण भएको एक तल्ले विश्राम भवन प्रयोगविहीन बनेपछि सशस्त्र प्रहरीले त्यसलाई प्रयोगमा ल्याएको छ । 

कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सरकारले सीमा नाका बन्द गराएपछि सशस्त्र प्रहरीले त्यही मौका छोपी सो भवन प्रयोगमा ल्याएको थियो । बेवारिसे अवस्थामा रहेको भवनलाई सशस्त्र प्रहरीले मर्मत सम्भारसँगै खानेपानी, बिजुली जडान गरी प्रयोगमा ल्याएको छ । 

प्रयोगमा ल्याएको भवनमा स्थापना गरिएको बिओपीमा २७ जना सशस्त्रको दरबन्दी रहेको प्रहरी निरीक्षक विभुराज दाहालले बताए । २७ जनामध्ये ६ जना भन्सार कार्यालय, ६ जना देवीवस्तीमा रहेको अस्थायी पोस्ट र १५ जना बिओपी खटिने उनले बताए ।