भण्टाबारी/ कोशी गाउँपालिकाका जनप्रतिनिधिहरू हालसम्म भएगरेका प्रगतिबारे जानकारी दिन जनताको घर–घरमा पुगेका छन् ।
निर्वाचित भएयताको तीन वर्षको अवधिमा भएगरेका विकास निर्माणका कार्यबारे जनतालाई बुझाउन जनताको घर–घरमा जनप्रतिनिधिहरू पुगेका हुन् । ‘अध्यक्षसँग जनता कार्यक्रम’ लिएर जनप्रतिनिधिहरू गाउँ–गाउँ पुगिरहेका हुन् ।
गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको नेतृत्वमा जनप्रतिनिधिहरू जनताको घरदैलोमा पुगेका छन् । जसको सुरुवात सोमबार कोशी गाउँपालिका–८ भण्टाबारीबाट भएको हो । गाउँपालिकाको सबै वडामा कार्यक्रम गरिने भएको छ । अध्यक्ष अन्सारीले आगामी दिनमा जनचाहनाअनुसारका काम गर्न र जनताका गुनासाअनुसार अगाडि बढ्न कार्यक्रम लिएर घर–घरमा पुगेको बताए ।
‘हामीले हालसम्म निकै उपलब्धिमूलक कामकाज सम्पन्न गरेका छौं’ उनले भने, ‘भौतिक निर्माण कार्यदेखि शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा निकै सुधार आएको छ ।’ जनतासँग भोट माग्न मात्रै नभई उनीहरूका आवश्यकता र चाहना बुझ्न बेला–बेला आफूहरू जनतासमक्ष पुग्ने गरेको अन्सारीले बताए ।
जनतासँग अध्यक्ष कार्यक्रम पहिलो दिन कोशी गाउँपालिका वडानम्बर ८ भण्टाबारी र ७ हरिपुरमा सम्पन्न गरिएको छ । वडा नं. ८ मा वडाध्यक्ष विन्देश्वर यादवको अध्यक्षता र ७ मा वडाध्यक्ष रामचन्द्र महतोको अध्यक्षतामा कार्यक्रम आयोजना हुँदा सयौंका सङ्ख्यामा जनताका साथै विभिन्न पार्टीका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जनावर पीडित सङ्घर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले हात्ती, अर्नालगायत कोशी गाउँपालिका क्षेत्रमा मुख्य समस्याको रूपमा रहेकोे जनावर आतङ्क रोक्न गाउँपालिका क्षेत्रका जनप्रतिनिधि र सङ्घर्ष समितिले गरिरहेको प्रयासका बारेमा जानकारी गराएका थिए ।