भद्रपुर । भद्रपुर स्थित वडा प्रहरी कार्यालय नजिकैबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लत्ता कपडा बरामद गरेको छ ।
सीमामा हुने अवान्छित कृयाकलाप रोक्न केही हप्ता अघि मेची पुल पूर्व प्रहरी चौकी स्थापना गरेपनि अवैध धन्दा नियन्त्रणको सट्टा मौलाएर गएको छ ।
भारतबाट बोरामा ल्याउदै गरेको कपडा शुक्रबार बिहान १ बजे भद्रपुर ५ स्थित मेची पुल उत्तरबाट सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको टोलीले बरामद गरेपछि वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरीमाथि आशङ्का देखिएको हो ।
सशस्त्र प्रहरीलाई देखेपछि सामान छाडेर तस्करहरू भागेका थिए । बरामद गरिएका सामानमा ३२५ पिस म्याक्सी, ६५ पिस कुर्ता सुरुवाल, ९६ पिस सेन्डो गन्जी, ५० पिस लेगिज, १०८ पिस पेन्टी र ३२ पिस कुर्ती रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भद्रपुरका इन्सपेक्टर विभुराज दाहालले जानकारी दिए ।
भद्रपुर नाकबाट भन्सार छलेर भित्राउन लागेको एक लाख ४८ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरिएको उनले जानकारी दिए ।
बरामद गरिएको सामानलाई शुक्रबार भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । यसअघि पनि सोही नाकाबाट भित्राइएको ठुलो परिणामको जुत्ता चप्पल सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
मेची पुल तलबाट रातको समयमा सरसामान भित्राउन अहिले तस्करी समूह योजना बनाएर लागि परेको व्यापारी स्रोतको दाबी छ ।
भद्रपुर भन्सार कार्यालयमा नयाँ कार्यालय प्रमुखसहित कर्मचारीको टोलीले जिम्मेवारी सम्हालेदेखि नै थप कडाइ गरेपछि अहिले कारोबारी र व्यापारी पहिलाको तुलनामा कम परिमाणमा भन्सारमा सामान ल्याउन थालेका छन् ।
कतै प्रहरीको सेटिङमा, कतै प्रहरीकै आँखा छलेर उनीहरू भन्सार छलेर सरसामान भित्राउदै आएको विभिन्न घट्नाक्रमले पुष्टि गरिसकेको छ ।