खोटाङ। खोटाङ जन्तेढुंगा गाउपालिका-५ घोर्लेस्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको छ ।
उनको उपचारको लागि घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमा मृत्यु भएको हो ।
उक्त दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् ।
घाइते मध्ये मणिराम राईको अवस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र बाँकीलाई घोपा धरान तर्फ पठाईएको हो ।
मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु.१ स. ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट अन्दाजी ५०० मिटर तल खसेको हो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली खटि गई घाइतेहरुलाई उद्धार गरी उपचारको लागि घोपा धरान तर्फ पठाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।