कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगअगाडि शनिबार राति भएको कार दुर्घटनामा एक जना हार्डवेयर व्यवसायीको मृत्यु भएको छ । 

विराटनगरको खारजीमा आचार्यको हार्डवेयर पसल छ। दुर्घटनामा गम्भीर घाइते  जग्गाको कारोबारसमेत गर्दै आएका आचार्यलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर राति ११ः४५ बजेतिर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए । 

दुर्घटनामा अरू चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । 

उनका अनुसार दुर्घटनामा परेर हार्डवेयर व्यवसायी विराटनगर महानगरपालिका–३ का ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको छ । 

भेन्टिलेटर नभएको भन्दै विराटले रेफर गरिदिएपछि थप उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा आइतबार बिहान ५ः१५ बजेतिर आचार्यको मृत्यु भएको जानकारी एसपी खतिवडाले दिए । 

उनका अनुसार दुर्घटनामा परेर कार चालक बूढीगंगा–१ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगर–३ का २० वर्षीय विवेक नेपाल घाइते भएका छन्। प्रहरीका अनुसार महाप्रसाद, भीम र सन्तोष जग्गा कारोबारी हुन्। घाइतेमध्ये विवेकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरुको विराट र न्युरोमै उपचार भइरहेको छ ।

यसैबीच मृतक आचार्यको उपचारमा लापरबाही गरिएको भन्दै आफन्तले न्युरो अस्पतालमा केहीबेर होहल्ला गरेका थिए । समयमा चिकित्सकले नहेरेको र गम्भीर अवस्थाका घाइतेलाई तत्काल भेन्टिलेटरमा नराखिएको भनेर आफन्त आक्रोसित बनेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

मादक पदार्थ सेवन (मापसे) गरेर तीव्र गतिमा चलाइएका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खतिवडाको भनाइ छ । प्रहरीले कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जनाएको छ ।