सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले राष्ट्रिय समाचार समिति(रासस) प्रदेश नं १ का प्रम्रख मोहम्मद सदरुलसहित छ जना पत्रकारलाई आज पत्रकारिता पुरस्कार एवं एवं सम्मान गरेको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १०औँ स्थापना दिवसको उपलक्ष्यमा पत्रकार अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, तारा आचार्य, राजकुमारी तामाङ र एलिना दियालीलाई सम्मान गरेको हो । 

मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी–२०७७ पुरस्कारबाट प्रमुख सदरुललाई र सोही पुरस्कार विसं २०७८ को आचार्यलाई प्रदान गर्ने भएको छ । नेपाल पत्रकार महासङ्घ मोरङका पूर्वसभापति दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङमा कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष नगदसहित सम्मान गरिएको छ । सो पुरस्कारको राशि रु २१ हजार रहेको छ ।

यस्तै ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिएको छ । समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजुको नाममा रु ५० हजारको पुरस्कार स्थापना गरेका थिए । रासस विराटनगरकी पूर्वसमाचारदाता मीना श्रेष्ठ महिला पत्रकर प्रोत्साहन पुरस्कारबाट विसं २०७७ का लागि तामाङ र विसं २०७८ का लागि दियालीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि नगद रु १० हजार रहेको छ । श्रेष्ठ महिला पत्रकारिता पुरस्कार प्रदेश–१ मा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ ।

प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले पुरस्कार वितरण गर्दै समाजमा पछाडि परेका जनताको उत्थान एवं उनीहरूलाई समाजको मूलधारमा ल्याउन पत्रकारले महत्वपूर्ण योगदान पुर्याउनुपर्ने बताए । उनले सञ्चारकर्मी आलोचना एवं दुःखको साथी हुने कार्यमा महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै मर्यादा एवं सदाचार पालना गर्न आग्रह गरे ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारी, पुरस्कार व्यक्तित्वद्वय एवं नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष तारा आचार्य, अनन्त न्यौपाने, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, पुरस्कार स्थापनाकर्ता दीपक दाहाल, सहकारीका सचिव महाप्रसाद खतिवडाले पुरस्कारबाट पत्रकारलाई आफ्नो कार्यमा थप हौसला एवं प्रेरणा प्राप्त हुने विश्वास व्यक्त्त गरे ।