चितवन / चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २६५ वटा बच्चा कोरलिएका छन्।

राप्ती र नारायणी नदी किनारबाट सङ्कलन गरिएका अण्डा प्रजनन केन्द्रमा लगेर कोरलिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार राप्तीको दुधौरा, हात्तीडाँडी (खोरसोर)लगायतका क्षेत्रबाट २३८ वटा अण्डा सङ्कलन गरिएको थियो।

ती अण्डामध्ये १० अण्डा विदेशी अनुसन्धानकर्ताले इन्कुभेटरमा राखेका थिए । त्यहाँबाट सातवटा बच्चा र अन्यबाट २५८ वटा बच्चा कोरलिएका हुन् । कूल अण्डाको ५९ प्रतिशत बच्चा कोरलिएको अधिकारीले बताए। वैशाखको पहिलो साता अण्डा सङ्कलन गरिएको थियो । असार पहिलो साताबाट क्रमशः बच्चा कोरलिएका हुन् । प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर नदीमा छाड्ने गरिन्छ । राप्ती, नारायणीलगायतका नदीमा हालसम्म एक हजार ५१५ गोहीका बच्चा छाडिसकिएको छ ।

नारायणी नदीको भेलौजी र शिसुवारबाट २१० वटा अण्डा सङ्कलन गरिएको हो। कूल ४४८ अण्डा सङ्कलन भएकामा ११ वटा न्याउरी मुसाले खाएको उनले जानकारी दिए ।

गत वर्ष र यस वर्ष अण्डा पारे पनि बच्चा नकोरलिएको निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए। उनका अनुसार प्रजनन केन्द्रमा १२ वटा वयस्क पोथी भए पनि भाले भने एउटा मात्रै छ । सो भाले विसं २०३५ यता रहेको उनको भनाइ छ।

राप्ती नदीको दुधौरा क्षेत्रमा १८१ वटा बच्चा देखिएका छन् । अन्य क्षेत्रमा पनि प्राकृतिकरूपमा बच्चा कोरलिएको पौडेलले जानकारी दिए। निकुञ्जले केही अण्डालाई प्राकृतिकरूपमा छाडेर केहीलाई प्रजनन केन्द्रमा ल्याउने गर्दछ । विश्वमा नै लोप हुने अवस्थामा पुगेपछि नेपालले पनि गोहीको संरक्षण गर्दै आएको छ । 

पछिल्लो गणनाअनुसार नेपालका नदीमा १९८ वटा गोही भेटिएका थिए। पानीको बहाव भारततर्फ जाने भएकाले यहाँ हुर्काएर नदीमा छाडिएका अधिकांश गोही भारत पुगेको बताइन्छ। हाल प्रजनन केन्द्रमा नयाँ बच्चाबाहेक ५०२ गोही छन्। प्रजनन केन्द्रमा भालेको अभावमा गोहीका बच्चा कोरलिन सकेका छैनन् ।