बेलबारीमा मंगलबार साँझ दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्नेमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
ठक्कर दिने सवारीसाधन यकिन हुन नसकिरहेका बेला मृतकको पनि पहिचान खुलेको छैन। प्रहरीका अनुसार गम्भीर घाइते भएको अवस्थामा ती पुरुषलाई साँझ ७ः३० बजेतिर सडकमा भेटिएको थियो ।
घटनाको प्रकृति हेर्दा सवारीसाधनले पैदल यात्रीलाई ठक्कर दिएजस्तो देखिएपछि दुर्घटना भएको निस्कर्षमा प्रहरी पुगेको हो ।
उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा भर्ना गरिएको केही बेरमै घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना गराउने सवारी साधनको खोजी थाल्दै मृतकको पहिचानको प्रयास भइरहेको छ।