झापाको भद्रपुरमा शुक्रबार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।
ज्ञानेचोकबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्याक्ट्रर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह ६४१९ नम्वरको टेम्पो एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर – १ सगरमाथा चोकको ओरालोमा शुक्रबार दिउँसो साढे २ बजे भएको दुर्घटनामा परेर भद्रपुर १ केन्द्रमोड बस्ने ३६ वर्षीया नानी भनिने छविमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्लाका डिएसपी राकेश थापाले जानाए ।
त्यस्तै टेम्पोमा सवार सोही ठाउँका करिब ४० वर्षीय डम्बरबहादुर लिम्बूको ओमसाई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थापाले जानकारी दिए । अर्का घाइँते टेम्पो चालक सोही ठाउँका ४२ वर्षीय नरबहादुर लिम्बूको उपचार भइरहेको छ ।
उनको टाउको, खुट्टामा चोट लागेर अवस्था गम्भीर रहेको छ । दुवै सवारी साधन प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा छन् । दुर्घटनापछि ट्याक्टर र ट्याक्टर चालक कचनकवल ३ बस्ने ३३ वर्षीय सागरसिंह राजवंशीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।