इटहरी/ केहि महिना अगाडी सम्म दर्जनौ सडक बालबालिका भएको इटहरीमा सडक बालबालिका हराउँदै गएका छन । अपराधिक क्रियाकलाप गर्दै आएका सडक बालबालिकाहरुलाई प्रहरीले बढि निगरानी बढाए सँगै उनीहरु विस्थापित हुदै गएका हुन ।
सडक बालबालिकाको हकहित तथा संरक्षणका लागि भन्दै सुनसरीमा दर्जन बढी सामाजिक संस्था क्रियाशील छन । तर, ती संस्थाले सडक बालबालिकाको हितमा काम गरेको देखिँदैन । इटहरी क्षेत्रमा १९ देखि २५ जनासम्म सडक बालबालिका थिए ।
सडक बालबालिकाको आयस्रोत नहुने र सानातिना चोरीका घटनामा संलग्न हुने, लागुऔषध प्रयोगमा संलग्न हुने गरेको छ । इटहरीबाट ८ जनालाई काठमाण्डौ पठाईएको इप्रका इटहरीका डिएसपी केसी भन्छन् । अहिले इटहरीमा सडक बालबालिका बस्दैनन् उनी भन्छन् । सडक बालबालिकाहरु अधिकांस घरमै छन आफन्त र घर नभएकाहरुलाई काठमाण्डौ पठाएका छौ डिएसपी केसी भन्छन् ।
केही समय अघि एक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आवधिक योजनामा नै प्रदेशलाई सडक बालबालिका मुक्त बनाउने घोषणालाई सार्थक बनाउन सङ्घीय सरकारले ल्याएको नीतिले थप मद्दत पुगेको बताएका थिए । यसअघि धरानमा रहेका ३१ जना सडक बालबालिकालाई भने सरकारले उद्धार गरेको थियो । प्रदेश १ का मुख्य सहर मानिने सुनसरीको धरान, इटहरी, झापाको दमक र बिर्तामोडमा गरी ६३ जना सडक बालकबालिका रहेको प्रदेश १ का सामाजिक विकास मन्त्रालयले जनाएको थियो ।
ती सडक बालबालिकाहरु अहिले देखिदैनन् इटहरीका हिरा होटलका सञ्चालक प्रकाश महतो भन्छन् । दैनिक विहान बेलुका माग्ने आउने उनीहरु अहिले ह्वात्तै घटेका छन व्यवसायी महतो भन्छन् ।
किताब कलम बोकेर विद्यालय जाने उमेरका बालबालिका लागुऔषध र काँधमा फोहोरको बोरा बोकेर हिँडिरहनेहरुलाई उद्धार गर्ने अभियान नै चलाएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम बताउँछिन । लामो समय देखि सडक आसपास बस्दै आएका बालबालिकाहरुलाई उद्धार गर्ने अभियानमा इटहरी उपमहानगर लागेको उनको भनाई छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले अहिले इटहरी क्षेत्रमा सडक बालबालिका नभएको दावी गरे । चोरी तथा लागुऔषधमा फस्दै गएको भन्दै डिएसपी केसीले भने ‘म आएपछि ठूलो अपराध त भएको छैन, मान्छे नहुँदा चोरी भइहाल्छ ।’ डिएसपी केसी भन्छन् इटहरी उपमहानगर र प्रहरीले सक्रियता देखाए सँगै अहिले इटहरीमा सडक बालबालिका छैनन् ।