झापा / सडक दुर्घटनाबाट दमक–५ निवासी राष्ट्रिय धावक तेजेन्द्र प्रधानको मृत्यु भएको छ ।

तीव्र गतिमा आएको कार अनियन्त्रित भई दौडिरहेका प्रधानलाई ठक्कर दिएको थियो । ठक्करबाट प्रधानको टाउकोमा गहिरो चोट लागेको थियो ।

नौ दिन अघि दमक–२ स्थित आम्दा अस्पताल सडक खण्डमा बा.१६ च. ३७२६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका २५ वर्षीय प्रधानको बिर्तामोडस्थित बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा आइतबार राती ८.४५ बजे उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न कार र त्यसका चालकलाई नियन्त्रणमा लिएको थियो ।

धावक प्रधानले छोटो समयमा नै मोफसलदेखि राष्ट्रिय स्तरका दौड प्रतियोगितामा विभिन्न पुरस्कार प्राप्त गरेका नेकपा माओवादी केन्द्र दमकका सचिव तीर्थराज बस्नेतले जानकारी दिए ।