आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो र भगवान् विष्णु शयन गर्नुहुने यही चार महिनालाई चतुर्मास भनिएको हो ।
यस चतुर्मास अर्थात् चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय मान्यता एवम् जनविश्वास रहेको छ । यस अवधिमा पर्ने आठ वटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी माहात्म्यको पाठ पारायण गरिन्छ । यदि चतुर्मासमा वृहस्पति र शुक्र अस्त भए पनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । शास्त्रीय कथन अनुसार एकादशीको अन्न वर्जित गरिएको छ। यस दिन अन्न नखाई उपवास बस्दा ठुलो पुण्यको भागी बनिनेछ ।
व्यावहारिक पक्षलाई हेर्ने हो भने वृक्षहरूमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पवित्र तुलसीलाई मानिन्छ । विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्त्वपूर्ण मानिने तुलसीको बिरुवा घरघरमा रोपेमा बिग्रँदै गएको वातावरणलाई स्वच्छ बनाउन सकिने वैज्ञानिकहरू बताउँछन् ।
आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज व्रत, पूजा, पाठ एवम् घरघरमा तुलसीको बिरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ ।
वैदिक धर्मावलम्बीका लागि महत्त्वपूर्ण दिनका रूपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्री विष्णु श्री हरि एवम् तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने शास्त्रीय मान्यता छ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।