नेपाल र भारतका बालबालिकाले संसार बचाउन पर्यावरण बचाउनुपर्ने र  वन्यजन्तु र वनस्पति संरक्षण गर्ने दायित्व आफूहरूको रहेको बताएका छन् । 

हाम्रा भङेरा र पर्यावरण योद्धा, पटना, विहार, भारतले ‘जङ्गल–पशु–पक्षीः बालबालिकाका  आँखामा’ विषयमा आयोजना गरेको अनलाइन परिचर्चामा तिनले पर्यावरण संरक्षणका दिशाा जागरूकतामा जोड दिँदै यस कार्यका लागि लिए  देशविदेशका धेरै बालबालिका अघि बढिरहेको र वृक्षरोपण अभियान चलाइरहेको बताए । 

आइतबार भएको परिचर्चामा मोरङ बूढीगङ्गाका बाल पर्यावरण योद्धा डेनिस रिजालले मानव जीवनमा बोटबिरुवा, पक्षी र  जनावरका  अहम भूमिका रहने भएकाले सबै मिलेर यिनलाई बचाउन आग्रह गरे । ‘पूरा विश्वमा विकासका नाममा रुखबिरुवा काटिँदै छ, यसको विकल्पमा अर्काे बाटो खोज्नुपर्छ’, एघार वर्षीय रिजालले भने, पृथ्वी र प्रकृतिलाई सुन्दर बनाउन तथा जैविक विविधताका लागि सबैको संरक्षण आवश्यक छ ।’  

झारखण्डका अमीषा महतोले आफ्नो गाउँमा कोइला निकाल्नका लागि जङ्गल काटिँदा गर्मी बढेको अनुभव सुनाउँदै  पृथ्वी र पर्यावरण बचाउनका लागि ज्यादाभन्दा ज्यादा बिरुवा लगाउन आह्वान गरे ।

दिल्लीका एकांश डंगवाल र दिव्यांश डंगवालले पर्यावरणमा हरेक जीवको विशेष महत्व रहेको जनाउँदै पक्षीहरूलाई दाना–पानी दिएर संरक्षण गर्नुपर्ने बताए । 

पर्यावरणप्रेमी–चिन्तक पिआइबी, पटनाका निर्देशक दिनेश कुमारले रुखका हरेक पात हाम्रा फोक्सो र प्रकृति बैंक भएको बताउँदै संरक्षणका लागि बालबालिकालाई अघि बढ्न आग्रह गरे । 

पीपल नीम तुलसी अभियानका संस्थापक डा धर्मेन्द्र कुमारले  खासगरी बालबालिकालाई पर्यावरण संरक्षणमा जोड्न आवश्यक रहेको बताए । 

परिचर्चाका आयोजक भङेरा संरक्षक तथा लेखक सञ्जय कुमारले लगातार जंगल कम भइरहेको र  वन जथाभावी उजाडिँदा कतिपय वन्य जीवजन्तु विलुप्त भइसकेको र केही लोपोन्मुख भएकामा चिन्ता  व्यक्त गरीन् । 

पर्यावरण योद्धा, पटनाका अध्यक्ष निशान्तरञ्जनले ठुल्ठुला जङ्गल अहिले विशाल अपार्टमेण्टमा परिणत भई पर्यावरणको तीव्र गतिबाट भइरहेको ह्रासले मानव अस्तित्व नै खतरामा परेको औँल्याउँदै यसको संरक्षणमा युवाको भूमिकामा जोड दिए ।