सप्तकोशी र त्रियुगा नदीको तटीय क्षेत्रमा पर्ने बेलका नगरपालिका १ र २ तपेश्वरीको तल्लो तटीय क्षेत्रमा दुई दिनयताको डुबान र कटानले जोखिम बढाएको छ  ।

तपेश्वरीमा सप्तकोशी र त्रियुगा नदीसँगै खहरे खोलाको बाढीले गाउँ डुबानमा परेको छ । बाढीले झन्डै १ हजार ८ सय घर डुबानमा परेका स्थानीयले बताए ।

दुई दिनदेखि भारी वर्षा भइरहेकाले गाउँ डुबेको स्थानीय भोगेन्द्र चौधरीले बताए । ‘तपेश्वरी बर्सेनि डुबान र कटानको चपेटामा परिरहेको छ,’ उनले भने, ‘तर तपेश्वरी क्षेत्र डुबान र कटान रोक्न दीर्घकालीन योजना बन्न सकेको छैन ।’ दुई दिनयता वर्षात् भइरहेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढ्दा त्रियुगा नदी थुनिन्छ । त्यसैले गाउँबस्ती डुबान हुने गरेको छ । पानीको सतह घट्दै जाँदा बाढीले तीव्र रूपमा कटान गर्ने भएकाले बस्ती नै जोखिममा परेको छ ।

‘सप्तकोसी र त्रियुगा नदीले बर्सेनि जमिन कटान तथा डुबान गर्दै आएको छ,’ वडाध्यक्ष दिनेश चौधरीले भने । त्रियुगा नदी नियन्त्रणका लागि दीर्घकालीन गुरुयोजना संघीय सरकार पारित गर्दै योजनासमेत परिसकेको छ । 

तीन वर्षयता काम भए पनि दिगो काम हुन नसक्दा समस्या हुने गरेको स्थानीयले बताए । ‘त्रियुगा बाढीले बर्सेनि जमिन कटान र डुबान गरिहेको छ,’ तपेश्वरीका स्थानीय रतिलाल चौधरीले भने, ‘नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने भनेको धेरै भयो ।’ तर अहिलेसम्म काम नहुदा बर्सेनि सयौँ बिघा जमिन खोलाले कटान गर्ने गरेको उनले बताए ।

त्रियुगा नदीमा तटबन्ध सुरु भएको ३ वर्ष बितिसक्दा पनि खासै काम भएको छैन । नदी नियन्त्रणको गुरुयोजना सुरु हुनुपूर्व बर्सेनि तटबन्धका नाममा करोडौं खर्च हुने गरेको स्थानीयले वताए । उदयपुरमा ३ हजार घरपरिवार नदीको बाढी कटान, डुबान र पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ ।