फुङ्लिङ/  ताप्लेजुङको मैवाखोला गाउँपालिका सुकुम्बासीविहीन बन्ने भएको छ । 

सुकुम्बासीलाई जग्गा खरिद गरी दिने प्रक्रिया शुरु भएसँगै अब मैवाखोला गाउँपालिका सकुम्बासीविहीन बन्ने भएको हो । यसका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । 

सुकुम्बासीका लागि जग्गा खरिद गर्न गत आर्थिक वर्षमा गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको थियो । 

गाउँपालिकाले गत हप्ता मात्र सोही गाउँपालिका–४ का निङ्मा फूर्वा शेर्पालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएको थियो । गाउँपालिकाले आफ्नो नाममा दुई रोपनी जग्गा पास गरिदिएपछि अब उनी सुकुम्बासी रहेनन् । 

जग्गा पास गरिदिन वडाध्यक्ष पूर्णाहाङ लिम्बूसहित जिल्ला मालपोत कार्यालय फुङ्लिङमा आएका थिए । निङ्माका श्रीमान् पेम्बा बेपत्ता भएको २२ वर्ष पछि बल्ल उनले आफ्नै नाममा जग्गा प्राप्त गरेका छन् ।

श्रीमान्का नाममासमेत जग्गा नभएपछि ४० वर्षदेखि साहुको जमिन अधियाँ कमाएर गुजारा चलाइरहनुभएको उनको दुई छोरीको विवाह गरेपछि घरमा एक्लै थिए ।  

उनको आफ्नो कमाइले जमिन जोड्न कल्पना बाहिरको कुरा थियो । सुकुम्बासीमुक्त पालिका बनाउने अभियानअन्तर्गत गाउँपालिकाले उनलाई जग्गा खरिद गरेर जग्गाधनी पूर्जा उपलब्ध गराइदिएपछि उनी अहिले दङ्ग परेकी छिन् । आगामी आर्थिक वर्षमा घरसमेत बनाइदिने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले बताए । 

गाउँपालिकाभित्र जमिनविहीन परिवारको तथ्याङ्क वडा कार्यालयमार्फत सङ्कलन कार्य भइरहेको चोङपाङले बताए । 

आफ्नो नाममा जमिन नभएका स्थानीयवासीको पहिचान गर्ने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा जग्गा खरिद गरिदिने र चालू आर्थिक वर्षमा घरसमेत बनाइदिने गाउँपालिकाको योजना भएको मैवाखोला गाउँपालिकाका सूचना अधिकारी मदन तिवारीले बताए । 

त्यसका लागि गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गरेको उनले बताए । 

सुकुम्बासीका लागि अहिले जग्गा खरिद कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताए । सुकुम्बासी भनेर समाजले लगाइदिएको ट्याङ अब हटेको अर्का स्थानीयवासी फूर्वा ग्याल्जेन शेर्पाले बताए । उनलाई पनि गाउँपालिकाले दुई रोपनी जग्गा खरिद गरिदिएको छ । 

‘तेरो नाममा जग्गा घर केही छैन भनेर समाजले फरक व्यवहार देखाउने गरेको थियो’, उनले भने, ‘अब त मेरो नाममा पनि जग्गा छ ।’ बाजेले जमिन बेचेर खाएपछि उनको परिवार रैथाने भएर पनि दुई पुस्तादेखि गाउँमै सुकुम्बासी बनेको थियो । 

साहुको चार रोपनी अधियाँ कमाएर उहाँले छ जनाको परिवार पालिरहेका थिए । 

बाबु र बाजेका नाममा समेत घरजग्गा भएका परिवारलाई सुकुम्बासी भनेर पहिचान गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लामा पहिलो पटक मैवाखोलाले यस्तो योजना ल्याएको हो । वडा नं ५ र ६ का सुकुम्बासीले चार÷चार रोपनी र अन्य वडाकालाई दुई/दुई रोपनीका दरले जग्गा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । 

सुकुम्बासीका लागि यसअघि सार्वजनिक तथा सरकारी जग्गाको उपयोग गर्ने गरिएको थियो । उनीहरु नयाँ ठाउँमा बस्न नरुचाउने गरेकाले हामीले जहाँ बस्दै आएका थिए, त्यहीँको जग्गा खरिद गरेर दिएको तुम्बापोको भनाइ छ ।