धरान । हङकङ नेपाली महासंघले नेपाली श्रमिकहरुलाई पनि डोमेस्टिक हेल्पर (घरेलु कामदार) को रुपमा भिसा दिलाउने पहल सुरु गरेको छ । हङकङ सरकारले नया सुरक्षा कानून लागु गरेपश्चात महासंघले नेपाली श्रमिकहरुका लागि पनि डोमेस्टिक हेल्परको भिसा दिन पहिलोपटक हङकङ सरकारसंग छलफल र वार्ताको प्रयास गरेको हो । 

महासंघका अध्यक्ष टंक रानाकाअनुसार हङकङ सरकारसंग वार्ता र छलफलका लागि वातावरण मिलाइदिन हङकङस्थित महाबाणिज्यदूत नेपालका लागि हङकङका महाबाणिज्य दूत उदयवहादुर राना मगर र बाणिज्य दुत किरणकुमार गुरुङलाई शनिबार महासंघमा निमन्त्रणा दिएर यस्तो प्रस्ताव राखेको हो ।  महासंघको निमन्त्रणा पश्चात कउलुन जिल्लाको नाथान रोडमा रहेको मङकोकस्थित महासंघको कार्यालय भ्रमण अवलोकन गर्न आएका बेला नेपाली श्रमिकलाई हङकङमा डोमेस्टीक हेल्परको भिषाका लागि नेपाल सरकार र हङकङ सरकार वीच वार्ताको वातावरण मिलाइदिन आफुहरुले आग्रह गरेको अध्यक्ष रानाले बताए । 

उनकाअनुसार हङकङमा ४० देखि ५० हजार नेपालीहरु हङकङ आइडी लिएर सन १९९७ देखि बस्दै आएका छन् । तर हङकङमै जन्मेको आइडी नभएका नेपालीहरुले डोमेस्टीक हेल्परको रुपमा भिसा पाउने गरेका छैनन् । जवकी फिलिपिन्स, भारत, पाकिस्तान जस्ता अन्य मुलुकका नागरिकलाई भने हङकङ सरकारले डोमेस्टिक हेल्परको भिसा दिने गरेको छ । 

उनले डोमेस्टिक भिसाका लागि महासंघले हङकङ सरकारसंग समन्वय गर्न सक्ने र त्यसकालागि नेपाल सरकारले हङकङ सरकारसंग ठोस प्रस्ताव राखिदिन महाबाणिज्यदुत रानासंग आग्रह गरेको बताए । उनले भने, ‘हङकङ सरकार र यहांका चिनिया नागरिकहरु नेपाली समुदायप्रति सकारात्मक देखिएका छन् । विश्वास गर्छन् । तर डोमेस्टीक हेल्परको बारेमा औपचारिकरुपमा दुइ मुलुक वीच समन्वय र वार्ता सम्झौता हुन सकेको छैन ।’

महासंघका अध्यक्ष रानाले बैदेशिक रोजगारीका लागि हङकङ सुरक्षित मुलुक भएकाले नेपालीहरुको छाता संगठन महासंघले डोमेस्टीक हेल्परमा आउन चाहने नेपाली नागरिकका लागि पनि खुला गर्नुपर्छ भनेर वकालत गर्दै आएको बताए । 

उक्त अवसरमा महासंघका संरक्षक तथा पुर्व अध्यक्ष प्रदीप थापाले नेपाली नागरिकले हङकङमा डोमेस्टिक हेल्परको रुपमा प्लम्बर, विद्युत, टनेल, निमार्ण क्षेत्रमा काम गर्ने अवसर पाए अन्य मुलुकको तुलनामा राम्रो आमदानी गर्न सक्ने र आफ्नो मुलुकमा बार्षिक रुपमा अर्वाै रुपैया रेमिट्यान्स भित्राउन सक्ने बताए । महासंघका पुर्व अध्यक्ष तथा हङकङ सरकारबाट नेपाली समुदायका लागि  लगानी र प्रवद्र्धन गरिएको कम्यूनिटि सपोर्ट टिम फर नेप्लीज प्रोजेक्टका संयोजक रिता गुरुङले हङकङमा नेपाली समुदायको अवस्था, सांस्कृतिक, आर्थिक, सामाजिक र शैक्षिक अवस्था बारे संक्षिप्त जानकारी दिइएकी थिइन् । उनले हङकङ सरकारको सहयोगमा नेपाली समुदायमाझ विभिन्न तालिम र कार्यक्रम संचालन गर्दै आएको जानकारी दिइकी थिइन् । पुर्व अध्यक्ष हेम लिम्बुले महासंघ स्थापनाकाल देखिका हङकङ नेपाली महासंघको स्थापनाकाल दखिका अध्यक्षहरुको महत्वपुर्ण योगदा तथा भूमिका सहित विस्तृत जानकारी दिएका थिए ।

महासंघको प्रस्ताव सुनिसकेपछि महाबाणिज्य दुत रानाले हङकङ सरकारले नेपाली समुदायको हितका लागि महासंघलाई विश्वास गरेर विभिन्न कार्यक्रम दिएको बुझ्दा डोमेस्टिक हेल्परको भिसाका लागि महासंघले राखेको प्रस्ताव खेर नजाने सम्भावना रहेको बताए । उनलाई उद्यृत गर्र्र्र्दै अध्यक्ष रानाले भने, ‘तपाईहरुको प्रस्ताव समग्र नेपालीको हितमा मात्र नरहेर हङकङ बस्ने नेपालीहरुको पक्षमा छ । नेपाल सरकारसंग समन्वय गरेर हङकङ सरकारसंग यस विषयमा वार्ता गर्ने वातावरण बनाउने प्रयास गर्नेछु ।’

उक्त अवसरमा महासंघका सल्लाहकार तथा कृति एजुकेशन केन्द्रका सस्था पुस्पा गुरुङ, नेपाल चेम्बर कमर्स अफ हङकङ अध्यक्ष डासुराम पराजुली, महासंघका पुर्व सचिव डा चुडा थापा र सल्लाहकारहरुले पनि महासंघले समन्वय गर्ने र सो प्रस्तावलाई महाबाणिज्यदुत राना र बाणिज्यदुत गुरुङले नेपाल सरकार र हङकङ सरकार वीच वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए ।