भोजपुर/ कृषिमा कम भविष्य देख्नेहरुका लागि भोजपुरका किसान उदाहरणीय बन्न थालेका छन् ।
किसानले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । भोजपुरमा उत्पादन भएका कृषि उपजहरुले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा किसानले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ उत्पादन भएका अकबरे खुसार्नी तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाण्डौँलगायत सहरमा पुग्न थालेका छन् ।
सडकको सहज पहुँच भएका स्थानका किसानको फार्मबाट नै सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ । यसबाट व्यवसायलाई थप राहत पुगेको भोजपुर नगरपालिकाका किसान सङ्गीता श्रेष्ठले जानकारी दिए । उनले भने, ‘मैले केही वर्षदेखि व्यावसायिक रुपमा अकबरे खुर्सानीको खेती गर्दै आएकी छु । बजारमा यसको राम्रो माग छ । अहिले हाम्रो उत्पादन जिल्लासँगै धरान, विराटनगर, काठमाडौँलगायत स्थानमा जाने गरेको छ । सडकको सहज पहँुचका कारण फार्मबाट बेच्न पाएका छौँ ।’
त्यस्तै भोजपुुरको रामप्रसाद राई गाउँपालिकाका कृषक खेलबहादुर कार्कीले पनि पाँच रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती गर्दै आएका छन् । कार्कीले स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि तीन सयसम्ममा खुर्सानी बेच्ने गरेको जानकारी दिए । उनले भने, ‘खुर्सानी तथा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । बजारको मागलाई पूरा गर्न नै समस्या छ तर यस वर्ष मेरो भने ढुसी लगायत रोगका कारण केही खुर्सानीका बोटमा क्षति भयो तर पनि राम्रै आम्दानी गरिरहेको छु ।’
टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका किसान शम्भु नेपालले २२ रोपनी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती गरिरहेका छन् । उनले अहिले २२ रोपनी क्षेत्रफलमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् । नेपालले एक हजार बोट कुरिलो, एभोकाडोलगायत बिरुवासमेत लगाएका छन् । उनले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार पाँच सयभन्दा बढी पिल्लरमा ड्रागन फल लगाएका छन् । दुई हजार पाँच सय पिल्लर पुर्याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको नेपालले बताए ।
नेपालले तीन वर्षअघि देखि भोजपुरमा पहिलोपटक ड्रागन फलको व्यावसायिक खेती गर्न थालेको बताए । अहिले उनको फार्ममा रहेको ड्रागनले फल दिन थालेको छ । नेपालले भने, ‘म २२ वर्षपछि पुनः गाउँ फर्केर व्यनवसायिक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसँगै कागतीको व्यावसायिक खेती गरिरहेको छु, सुरुमा गाउँमा फर्केर आएर व्यावसायिक रुपमा खेती गर्दा यहाँका साथीहरुले धेरै थरीका कुरा गरे, बौलायो भने पैसा धेरै भएर यस्तो गर्दैछ भने तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीहरुले पनि खेती गर्दै आएका छन् ।’
नेपालले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म रु १५ लाखभन्दा बढी खर्च गरिसकेको बताए । गत वर्षदेखि सामान्य रुपमा त्यसले फल दिन थालेको उहाँले बताए । अरुण गाउँपालिका–६ जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती सुरु गरेको छ । करिब पाँच वर्ष विदेश बसेर आएका राईले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडोको व्यावसायिक खेती सुरु गरेको बताए । राईको फार्ममा अहिले एक हजार ६ सयभन्दा बढी एभोकाडोको बिरुवा छन् । एभोकाडो प्रतिकेजी रु तीन सयदेखि रु पाँच सयसम्ममा बिक्री हुने गरेको राईको भनाइ छ ।
अबको केही वर्षदेखि यसले उत्पादन दिन थाल्ने र वार्षिक रुपमा ३० लाखसम्म आम्दानी लिने लक्ष्य राखेको राईको भनाइ छ । कृषक राईले भने, ‘विदेशमा धेरै समय बसे, त्यहाँ धेरै दुःख गरियो तर सोचेअनुसारको आम्दानी गर्न सकिएन अहिले आफ्नै ठाउँमा व्यावसायिक एभोकाडो (घ्यूफल) खेतीमा लागेको छु । मेरो वार्षिक रु ३० लाख आम्दानी लिने लक्ष्य छ ।’
सरकारले कृषकलाई प्रोत्साहन गर्ने विभिन्न खालका कार्यक्रमहरु सञ्चालनमा ल्याएसँगै यसतर्फ कृषकको आकर्षण बढेको देखिन्छ । जिल्लामा यस वर्ष कृषि ज्ञान केन्द्रमार्फत रु ६ करोड ५६ लाख १७ हजार तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत रु पाँच करोड ३३ लाख ७७ हजार बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ । पकेट, ब्लक जस्ता अन्य विभिन्न कार्यक्रममार्फत कृषकहरुलाई व्यवसायमा लाग्न प्रोत्साहन गर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभा र भोजपुरका प्रमुख हिमालय पोखरेलले जानकारी दिए ।
प्रमुख पोखरेलले भने, ‘पछिल्लो समय फार्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसबाट धेरै कृषकले आफ्नो आयस्रोतमा वृद्धि गरेका छन् । यस वर्ष पनि कृषक लक्षित कार्यक्रमहरु सरकारले सञ्चालनका लागि बजेट पठाएको छ । यसबाट अझै धेरै कृषकलाई लाभ पुग्ने देखिन्छ ।’ कृषि ज्ञान केन्द्र भोजपुरमार्फत नमूना कृषि फार्म, सुन्तला बगैँचा व्यवस्थापन, खाद्यान्न फलफूल, तरकारी खेती विस्तार, पशु सेवाअन्तर्गत च्यापकटर वितरण, बाख्रापालन, भेडापालन, अण्डा उत्पादन, बङ्गुरपालनलगायत कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्रप्रसाद यादवले भने, ‘विगत वर्षबाट नै कृषक प्रोत्साहनमूलक धेरै कार्यक्रम सञ्चालन भइरहेका छन् । धेरै कृषकहरुले व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्दै आएका छन् । उत्पादन अहिले बाहिरी बजारमा जान थालेको अवस्था छ । हामीले विभिन्न स्थानीय तहमा पकेट क्षेत्र तथा ब्लक निर्माण गरेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यसले पनि कृषकलाई उत्साह थपेको छ ।’
कार्यक्रममार्फत यस वर्ष जिल्लामा सञ्चालन हुने योजनाको विषयवस्तुका बारेमा समेत रायसुझाब सङ्कलन गरिएको छ । सरकारले कृषक लक्षित विभिन्न योजनाहरु सञ्चालन गरे पनि वास्तविक कृषकसम्म पुग्न नसकेको सहभागीहरुले गुनासो गरेका छन् । सञ्चालित योजनाहरुको अवस्थाका बारेमा समेत नियमित अनुगमन गर्नुपर्ने धारणासमेत उनीहरुले राखेका छन् ।
सरकारले कृषि तथा पशुपालनमा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा युवाको समेत आकर्षण बढेको छ । कतिपय कानुनी जटिलता तथा पहुँचका आधारमा अनुदान वितरण हँुदा लक्षित कृषकसम्म पुग्न नसेकाले यसतर्फ सजक हुन सरोकारवला पक्षले सुझाव दिएका छन् ।