खोटाङ/ खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारमा कुकुरको विगविगी बढेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा पर्ने ऐसेलुखर्कबजार तथा प्राथमिक स्वास्थ्य केन्द्र आसपासमा छाडा कुकुरका कारण बिरामी, विद्यार्थी, वृद्धवृद्धा र रातको समयमा आवत–जावत गर्ने बिरामी, बिरामीका कुरुवा र स्वास्थ्यकर्मी त्रसित बनेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र आसपासमा कुकुरको आक्रमणका कारण कतिपय स्थानीय घाइते बनेको गाउँपालिकाले जनाएको छ । रातका समयमा बजार क्षेत्रमा भेला भएका कुकुरले झम्टने गरेको छ ।

जथाभावी छाडिएका कुकुरका कारण बजार तथा प्राथमिक स्वास्थ्य केन्द्र क्षेत्रमा हिँडडुल गर्न कठिन भएपछि गाउँपालिकाले बुधबार सूचना जारी गर्दै जथाभावी कुकुर नछाड्न आग्रह गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जारी गरेको सूचनामा कुकुर पालन गरिरहेका घरधनीलाई आ–आफ्नो कुकुर नियन्त्रणमा लिएर बाँधेर घरमा राख्न अनुरोध गरिएको छ । गाउँपालिकाको सूचना उल्लंघन गर्ने कुकुर पालक घर धनीलाई कुकुरबाट भएको क्षती बेहोराउने भनिएको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारमा समेत छाडा कुकुरको बिगबिगी छ । रातका समयमा दिक्तेलबजारमा हुल बनेको कुकुरले आक्रमण गर्ने त्रासमा यात्रा गर्नुपर्ने वाध्यता छ ।