झापा/ झापामा मोटरसाइकलको ठक्करबाट आज (बिहीबार) बिहान गर्भवती महिलाको मृत्यु भएको छ । 

भद्रपुर नगरपालिका–९ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले दुर्घटना गराएको हो । मोटरसाइकलले ठक्कर दिँदा गर्भवती रहेकी २३ वर्षीया दीक्षा चौलागाईं (प्रसाईं)को मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए । 

पैदल हिँडिरहेकी उनलाई मोटरसाइकलले ठक्कर दिएर राति ८ः४५ बजेतिर घाइते भएकी थिइन्।उनलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार हुन नसकेपछि  दमकको लाइफलाइन अस्पताल ल्याइएको थियो । 

रातको समयमा तीव्र गतिमा रहेको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको प्रहरीको भनाइ छ । 

उनको उपचारका क्रममा बिहानका राति २ः३० बजेतिर लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालक भद्रपुर–९ का ३३ वर्षीय मनप्रसाद तिवारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।