भद्रपुर । तीन दिनयता बर्षासंगै कन्काई नदीको भङ्गालो पसेर बाटो बगाउँदा ९० घर परिवार समस्यामा परेका छन् । झापाको गौरीगञ्ज १ साविक महाभाराको होकलबारी बस्तीका सर्वसाधारणको आवतजावत समेत बन्द भएको छ ।
त्यहाँको बाँध भत्काएर टप्पु तर्फबाट कन्काईको पानी भंगालोका रुपमा होकलबारी तर्फ पसेको हाे । केही दिनयता बाँधमा भइरहेको कटान रोक्न गरिएको रोकथामको प्रयासका बावजुद गएराति चौरी र होकलबारी बस्तीको बीच भागबाट भङ्गालो पसेको स्थानीय प्रेम राईले जानकारी दिए ।
उनका अनुसार टप्पु बस्ती आसपासका केही घर परिवार समेत खोलाको बाढीका कारण विस्थापित हुने क्रममा छन् । राति नै खोला पसर बाटोमा लगाएको कज्वे भत्काएकोले यहाँको आवतजावतका लागि डुङ्गाको बन्दोबस्ती गरिएको उनले जनाए ।
उनका अनुसार कन्काईले धार परिवर्तन गरेर पहिलेकै स्थानमा फर्किदा यसअघि सयौं परिवार विस्थापित भएको सो ठाउँमा हाल रहेका ९० घर परिवार समस्यामा परेको उनको भनाइ छ ।
नदी कटान प्रभावित क्षेत्रमा यसअघि प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा अधिकारीहरु काङ्ग्रेस झापाका नेता देउमान थेवेसहितको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।
गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले कन्काईको कटानले बस्तीमा परेको प्रभावका बारेमा स्थानीय सरकारका अतिरिक्त माथिल्लो निकायको समेत ध्यानाकर्षण गराएको र तत्काल आउन सक्ने जोखिमलाई मध्यनजर गरेर आवश्यक रोकथामका सबै प्रयासहरु शुरु गरिएको उनले बताए ।