धरान । धरानको गौधाराबाट पिण्डेश्वर मन्दिर तर्फ जाने बाबाधाम मार्गमा स्वागतद्वार निर्माण हुने भएको छ ।

शुक्रबार प्रदेश नं.१ का सभामुख प्रदीप भण्डारीले स्वागतद्वारको सिलान्यास गरे । कुल १५ लाख लागत अनुमान गरिएको स्वागतद्वार निर्माणकालागि धरान उपमहानगरपालिका वडा नं.३ ले ६ लाख बजेट विनियोजन गरेको छ । अन्य बजेट प्रदेश सरकार र विभिन्न दाताहरुबाट संकलन गरेर प्रवेशद्वार निर्माण गरिने बाबाधाम स्वागतद्वार निर्माण  उपभाेक्ता  समितिका अध्यक्ष अनिल मास्केले जानकारी दिए ।

पित्तलको गजुर र छाना सहितको स्वागतद्वारका दुवैतर्फ पित्तलका सिंह आकृति राखिने छ । सिलान्यास कार्यक्रममा स्वागतद्वार निर्माणका लागि धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीले व्यक्तिगत रुपमा १५ हजार रुपैयाँ  प्रदान गर्ने घोषणा गरिन् । त्यस्तै पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले २५ हजार दिने घोषणा गरे । सिलान्यासका अवसरमा सभामुख भण्डारीले स्वागतद्वारका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताएका छन् ।