इनरुवा । बढेको तलब पाउनु पर्ने माग गर्दै इनरुवा नगरभित्र रहेका बालविकास केन्द्रका शिक्षक कर्मचारीले नगरपालिकामा धर्ना थालेका छन ।
नगरपालिकासँग भएको यसअगिका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएका उनीहरूले माग पूरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन् ।
नगरपालिकाको मूलगेटमा दिइएको धर्नाका कारण कार्यालयको कामकाजसमेत प्रभावित बनेको छ । उनीहरूले माग सुनुवाइ नभए धर्ना कार्यक्रमलाई निरन्तरता दिँदै कर्मचारीलाई कार्यालय प्रवेशमा समेत रोक लगाउने बताएका छन् ।
सङ्घर्ष समितिकी अध्यक्ष सोनु मगर ढुङ्गेलले सरकारले घोषणा गरे अनुरूपको तलब पाउनु पर्ने आफूहरूको माग रहेको बताइन् । उनले अन्य स्थानीय तहले सरकारी निर्णय कार्यान्वयनमा ल्याइसक्दा इनरुवाले भने आलटाल गर्दै आएको बताइन् ।
आन्दोलित पक्षले सरकारले दिने भनेको १५ हजार तलब इनरुवा नगरपालिकाले तत्कालैबाट कार्यान्वयनमा नल्याए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ ।
सरकारी घोषणाअनुसार ६ हजार तलब बुझ्दै आएका बालविकास केन्द्रका शिक्षक कर्मचारीको हकमा २ हजार सरकारले व्यहोर्ने भनिएको छ । बढाइएको रकमको बाँकी ७ हजार भने स्थानीय तहले उपलब्ध गराउनु पर्ने भनिएको छ ।
इनरुवा नगरपालिकाले भने स्रोत अभावमा सो रकम व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउँदै आएको छ । यद्यपि उसले उचित तवरले माग सम्बोधनको प्रयास भने जारी रहेको बताएको छ । पहिलो दिनको धर्नामा नगरभित्र रहेका ८४ जना बालविकास केन्द्रका शिक्षक तथा कर्मचारी सहभागी थिए ।