विजयपुर । माईजोगमाई गाउँपालिका–५ सोयाङको लोक्साङ गाउँका ३६ परिवारको सामूहिक बचत तथा कृषि समूह छ ।

समूहले सामूहिक रुपमा बेसारखेती गर्दैआएको छ । दुई वर्षअघि ४० किलो बेसार रोपेर गत वर्ष २५ मन बीउ उत्पादन गरियो । यस वर्ष १२० मन उत्पादन हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत गत वर्ष रु दुई लाख अनुदान दियो । यसपटक हिउँदे अधिवेशनबाट ‘ड्राएर’ मेसिन र पिस्ने मेसिनका लागि रु दुई लाख ५० हजार अनुदान थप गरेपछि किसान उत्साहित छन् । समूहले आफैँ उद्योग खोल्ने तयारी थालेको छ । काँचो बेसारलाई गाउँमै प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाइनेछ ।

“सामूहिकखेती गरेर आर्थिकोपार्जन गर्न २०८० सालमा २४ परिवारले समूह खोल्यौँ । दुई वर्षमा ३६ परिवार जोडिए”, समूहका सचिव सुमन बेगाले भने, “रोङ गाउँपालिकाले उत्पादन गरेको कपुरकोट–२ जातको एक मन बेसार प्रतिकिलो रु ७० मा ल्याएर रोपेका थियौँ । खन्ने बेला हुन लाग्यो । एक सय २० मनसम्म फल्छ भन्ने अन्दाज छ ।”

बेसार १० रोपनी क्षेत्रफलमा रोपिएको छ । “बेसार कटिङ मेसिन ल्याएका छौँ । मेसिनको क्षमता प्रतिघण्टा १०० देखि ३०० किलो छ । काँचो बेसार एक पटकमा ६० किलोसम्म सुकाउन सकिन्छ”, सचिव बेगाले भने, “जमिन भाडामा लिएका छौँ । उद्योग स्थापना गर्ने तयारी छ । अब बेसार प्रशोधन गरेर प्याकेजिङ गरेपछि विदेशमा बिक्री गर्ने तयारी छ । स्थानीय बजार, काठमाडौँ र हङ्कङ यसको मुख्य बजार हो ।”

समूहले यसपटक च्याउखेती पनि सुरु गरेको छ । “चार सय किलो उत्पादन भयो । रु २०० प्रति किलोका दरले बिक्री गर्यौं । अर्को वर्ष उत्पादन बढाउँछौँ”, अध्यक्ष जयबहादुर लिम्बूले भने । गत वर्षदेखि गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम सुरु गरेको हो । एउटा वडामा एक उत्पादन बढाउने र गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर सुरु गरिएको अभियान अन्तर्गत वडा नं ५ लाई बेसारखेती छनोट गरिएको थियो ।

गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेका अनुसार, स्थानीयस्तरमा उत्पादन हुनसक्ने कृषिउपजको उत्पादन वृद्धि गरी गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । “व्यावसायिक उत्पादन गर्ने कृषक तथा फर्मलाई अनुदान दिएर प्रोत्साहन गरिरहेका छौँ”, अध्यक्ष थेबेले भने, “वडा नं १ मा रुख टमाटर, २ नं मा जडीबुटी, ३ नं मा कुखुरापालन, ४ र ६ नं मा खुर्सानी (अकबरे) र ५ नं मा बेसारखेतीमा अनुदान दिएका छौँ । अध्यक्ष थेबेका अनुसार, गत वर्ष ६ वडाका कृषक, कृषि फर्म, समूह तथा सहकारीमा गरी ६७ उद्यमीलाई रु १५ लाख अनुदान वितरण गरिएको थियो । कार्यक्रमको सूचना आह्वान हुन्छ । प्रस्तावना मागेर स्थलगत अवलोकन गरेपछि आर्थिक समितिले निर्णय गर्छ । प्राथमिकताका आधारमा अनुदान वितरण हुन्छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न पनि यो कार्यक्रम महत्वपूर्ण छ ।

गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत गाउँमै उत्पादन बढाएर आत्मनिर्भर बन्ने र विदेश जानुपर्ने बाध्यता न्यूनीकरण गर्ने कार्यक्रम गरिरहेको छ । गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ । यसका लागि दुग्ध तथा घ्यु प्रशोधन, कोदोको बिस्कुट उत्पादन र यस वर्ष ललिपप निर्माण तथा दुग्ध उत्पादन प्रशोधनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

गाउँपालिकाले कार्यक्रममार्फत मौरीपालन, अलैँचीखेती, पशुपालन, ब्युटीपार्लर तथा विस्कुट उत्पादनजस्ता क्षेत्रमा उत्कृष्ट काम गर्ने उद्यमीलाई अधिकतम रु तीन लाखसम्म अनुदान दिएको थियो । गाउँपालिकाका उपाध्यक्ष प्रवीना राईले भनिन्, “व्यवसायमै सक्रिय उद्यमीलाई सामग्री तथा नगद सहयोग गर्ने गरेका छौँ । हाम्रो मुख्य उद्देश्य स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नु हो ।”

पहिलो वर्ष दुग्ध तथा घ्यु प्रशोधन तालिम दिएपछि वडा नं १ का तुलबहादुर लिम्बूको कृषि तथा डेरी उद्योग, वडा नं २ की रेखा रिजालको पाण्डे डेरी उद्योग र वडा नं ६ का इन्द्र थेबेको एनएस डेरी उद्योगलाई सामग्री सहयोग गरिएको थियो । उक्त कार्यक्रमअन्तर्गत गत वर्ष कोदोको बिस्कुट उत्पादनसम्बन्धी तालिम दिइएर उत्कृष्ट ६ व्यवसायीलाई नगद अनुदान दिइएको थियो ।

वडा नं १ की पार्वती भट्टराईले सञ्चालन गर्नुभएको भट्टराई बिस्कुट बेकरी उद्योगलाई वस्तुगत सहायता अनुदान दिइएको छ । त्यसैगरी, वडा नं ३ का रुद्रकुमार सञ्जेलको गहिरीगाउँ जैविक कृषि फार्म, वडा नं ४ का सनबहादुर लिम्बूको सुनौलो कृषि तथा पशुपालन फर्म, वडा नं ५ का लक्ष्मण खत्रीको कुशिका एकीकृत कृषि तथा पशुपन्छी फर्म, वडा नं १ की कञ्चन आचार्यको कञ्चन ब्युटीपार्लर तथा प्रशिक्षण केन्द्र र वडा नं ३ का लक्ष्मी तामाङ र पुजन प्रधानले सञ्चालन गरेको पशुपति पशुपालन तथा कृषि फर्मलाई नगद अनुदान प्रदान गरिएको थियो ।

यस वर्ष ललिपप निर्माण तथा दुग्ध प्रशोधनसम्बन्धी तालिम ३० जनाले लिएका छन् । अब उक्त सीपलाई व्यावसायिक बनाउनेलाई अनुदान दिइने उपाध्यक्ष राईले बताइन् । बिस्कुट उत्पादनमा रु दुई लाख अनुदान पाउनुभएकी पार्वती भट्टराईले थप व्यावसायिक बन्न प्रोत्साहन मिलेको बताइन् । गाउँपालिकामा प्रतिदिन ३० हजार लिटर दुग्ध उत्पादन हुने गरेको अध्यक्ष थेबेको भनाइ छ । रासस