विजयपुर । नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामा हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने नेपाल सरकारको निर्णयको समर्थन गर्दै प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको असहजताका कारण गत चैत २३ गतेदेखि निजामतीसहित सबै सरकारी निकाय र शिक्षण संस्थामा शनिबार र आइतबार बिदा लागू गरिएको थियो । साथै, सरकारी कार्यालय समय बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कायम गरिएको छ ।

बिहीबार महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त निर्णयको समर्थन गरेका हुन् । उनीहरूले नयाँ बिदा व्यवस्थाअनुसार पाठ्यक्रम तथा पठनपाठन समायोजन गर्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यालय र शिक्षक कर्मचारीलाई त्यसअनुसार व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा विगतमा भएका सहमतिअनुसार स्थायी, अस्थायी, राहत, करार, साविक उमावि, शिक्षण सिकाइ अनुदान, बालविकास, विशेष शिक्षालगायत सबै शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान हुनेगरी विद्यालय शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरिएको छ । यस्तै, सोलुखुम्बु, सिरहा लगायतका जिल्लामा शिक्षक दरबन्दी कटौती, सेवाबाट हटाउने तथा विभिन्न बहानामा अनुपयुक्त सरुवा गरिएका घटनाप्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।