विजयपुर/ सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको पूर्वी नेपालमा भारतबाट प्रवेश गर्ने कतिपय गाडीहरुको अभिलेख नै सुरक्षा निकायले नराखेको पाइएको छ । नेपाली सुरक्षाकर्मीले मुख्य नाकामा मात्र जाँच गर्ने र अभिलेख राख्ने गरेको छ तर भारतीय नागरिकहरु चोरबाटो हुँदै नेपाल छिर्ने गरेको पाइएको हो ।

भारतको बिहारमा हुन लागेको मुख्यमन्त्री नितिशकुमारको जनता दल (युनाइटेड) को निर्वाचनको गोप्य गतिविधि गर्न नेपाल आएका स्थानीय नेताहरुले प्रयोग गरेका गाडीको अभिलेख भन्सार कार्यालय र सुरक्षा निकायसँग छैन । भारतीय नेताहरुले प्रयोग गरेका बीआर एलएलसी ५३९९, बीआर ३ एसपी ०७०६, बीआर ०१ पिसी ३०५२, बीआर १९ जे २६२८ र बीआर ११ डब्लु ८४०० नम्बरका गाडीहरुको कुनै अभिलेख नेपाल प्रहरी र सशस्त्र प्रहरीको कुनै पनि कार्यालयमा भएको भेटिएन ।
[caption id="attachment_4016" align="alignleft" width="530"]
बिना इजाजत नेपाल छिरेको गाडि[/caption]
बीआर ०१ पिसी ३०५२ नम्बरको गाडीका चालकले आफु सुनसरीको देवानगञ्जबाट नेपाल आएको बताए । उनले आफुले चलाएको गाडी दोस्रो संविधानसभा निर्वाचनमा नेपाली नेताले पनि प्रयोग गरेको खुलासा गरे । उनका अनुसार यो गाडी दोस्रो संविधानसभा निर्वाचनमा सिरहामा प्रयोग गरिएको थियो । यी गाडीहरु बिहारसँग सिमाना जोडिएका हरिपुर, श्रीपुर, लौकही, नरसिंह, वसन्तपुर, घुस्की, देवानगञ्जका भित्री बाटाहरुबाट नेपाल छिरेको उनले जनाए । बिहारका नेताहरु नेपालमा आएर बस्नुको कारणबारे उनले अनभिज्ञता प्रकट गरे ।
यी गाडीहरुले भन्सार कार्यालयबाट समेत अनुमति लिएका छैनन् । सुनसरी भन्सार कार्यालय हरिपुर, लौकही छोटी भन्सार कार्यालय, घुस्की छोटी भन्सार कार्यालय, साहेबगञ्ज छोटी भन्सार कार्यालय र कौवाखोज छोटी भन्सार कार्यालयमा समेत यी गाडीको अभिलेख नपाइएको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलका एक अधिकृतले जानकारी दिए । उनले सबै भन्सार कार्यालय र सशस्त्र प्रहरीको पकलीस्थित क्षेत्रीय कार्यालयमा पनि अभिलेख नभेटिएको बताए । काँकडभिट्टाको मेची भन्सार कार्यालयका एक कर्मचारीले पनि ब्लाष्टले उपलब्ध गराएका नम्बरका गाडीहरुको कुनै अभिलेख नभएको बताए । उनले आफुलाई सूचना दिने अधिकार नभएकाले नाम उल्लेख नगरिदिन आग्रह गरे । उनले भने, ‘तपाईंले दिनुभएका कुनै पनि नम्बर हाम्रो रेकर्डमा छैनन् ।’ विराटनगर भन्सार कार्यालयमा भने सम्पर्क हुन सकेन । विराटनगर भन्सार कार्यालयको ०२१–५२०८४३ नम्बरको टेलिफोन दर्ता नै नभएको जानकारी प्राप्त भयो । धरान भित्रने नाका तीनकुनेमा पनि धरान प्रवेश गरेका र धरानबाट बाहिर गएका भारतीय नम्बर प्लेटका गाडीको अभिलेख राखिएको छैन । धरानका डीएसपी ढकेन्द्र खतिवडाले आउने–जाने गाडीको अभिलेख राख्ने व्यवस्था मङ्गलबारबाट मिलाउने बताए । नेपाली भूमिमा विदेशी नम्बर प्लेटको गाडी चलाउन भन्सार कार्यालयबाट अनुमति र अस्थाई नम्बर प्लेट प्रयोग गर्नुपर्ने व्यवस्था छ तर नेपाल प्रवेश गरेका अधिकांश भारतीय गाडीले यो प्रावधानलाई पालना गरेको पाइँदैन ।
बिहारका प्रहरी कन्ट्रोलका एसपी अभयनारायणले भारतीय नेताहरु नेपाल गएको विषयमा आपूmलाई सामान्य जानकारी भएको बताए । ‘हामीले उहाँहरु घुम्नका लागि नेपाल गएको जानकारी पाएका छौँ, अरु जानकारी हामीलाई छैन ।’ उनले भने । स्थानीय राजनैतिक दलको चुनावको विषयमा भने उनले केही बोल्न चाहेनन् । ‘यदि भारतीय पक्षबाट नेपालमा शंकास्पद गतिविधि भएका भए हामी नेपाल प्रहरीसँग समन्वय गर्ने छौँ ।’ उनले भने ।
सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलका पकलीस्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख डीआईजी सुरजकुमार श्रेष्ठले गाडीको अभिलेख राख्ने जिम्मा भन्सार कार्यालयको भएको बताए । ‘हामीले निगरानी मात्र गर्ने गरेका छौँ, सम्पूर्ण अभिलेख राख्ने गरिएको छैन ।’ उनले भने । खुल्ला सिमानाका कारण कतिपय भित्री बाटाहरुबाट गाडीहरु आउने गरेको उनले स्वीकार गरे ।