धरान / सुरक्षा संवेदनशिलताका आधारमा वैदेशिक रोजगारीका लागि जोखिमयुक्त ठानिएको अफगानिस्थानमा ५ हजारको हाराहारीमा नेपाली रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सोमवार राजधानि कावुलमा भएको आत्मघाति हमलामा १२ नेपाली मारीएपछि नेपालीको संख्या र सुरक्षाका विषयमा वहस सुरु भएको छ । वैदेशिक रोजगार विभागले ३ हजार ३ सय २३ नेपाली कार्यरत रहेको वताएपनि अवैधानिकरुपमा जानेको संख्या पनि त्यतिकै हाराहारीमा हुन सक्ने वैदेशिक रोजगार व्यवसायीहरुले वताएका छन् । अफगानिस्तानमा वैधानिकरुपमै तीन हजार तीन सय २३ नेपाली कामदार कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । उनिहरु सुरक्षा गार्डका लागि श्रम स्वीकृति लिएर संस्थागत रुपमा विभिन्न वैदेशिक रोजगार संस्थामार्फत अफगानिस्तान गएका वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले बताए । ती बाहेक कतिपय नेपाली व्यक्तिगत रुपमा भारत, पाकिस्तान लगायत मुलुक हुँदै गएको हुन सक्ने बताउँदै उनले त्यसको तथ्याङ्क भने विभागसँग नभएको जानकारी दिए । अफगानिस्तान गएका नेपालीमध्ये कतिपय नेपाल आएर पुनः फर्केको हुन सक्ने उनको भनाइ छ । त्यो सङ्ख्या बढेको देखिने बताउँदै उनले वैधानिक रुपमा हालसम्म गएका नेपालीको सङ्ख्या करिब आठ हजार भएको जानकारी दिए । विभागले हालसम्म व्यक्तिगत तवरमा कुनै पनि नेपालीलाई काम गर्नका लागि अफगानिस्तान जान स्वीकृति दिएको छैन । त्यहाँको सरकारको माग अनुसार विभागले विशेष गरी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी र त्यहाँस्थित कूटनीतिक निकायमा सुरक्षा गार्डका रुपमा पूर्वसैनिक एवम् प्रहरीलाई स्वीकृति दिँदै आएको छ ।