विमानसहितको नेपाली टोली गयो कावुल
धरान / सरकारले काबुलमा आत्मघाती आक्रमणमा सोमवार मारिएका नेपालीको शव ल्याउन बुधबार बिहान नेपाल एयरलाईन्सको विमान सहितको टोली पठाएको छ । विमान चालक विजय लामाले सामाजिक संजाल मार्फत आफ्नो नेतृत्वको चालक दल र सरकारी अधिकारी सहितको टोली कावुलका लागि उडेको जनाएका छन् । उनले उद्दारकालागि सरकारी जहाज सहितको एयरलिफ्ट टोली पठाउने निर्णयकालागि धन्यवाद समेत दिएका छन् । गृहमन्त्रालयमा मंगलबार ११ बजेदेखि बसेको बैठकले नेपाल वायु सेवा निगमको एयर बस चार्टर गरी परराष्ट्रको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको बिशेष ब्युरोका अधिकारीसहितको टोली काबुल पठाउने निर्णय गरेको थियो ।
परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदी र गृहका महेश दाहालसहित वैदेशिक रोजगार प्रर्वद्धन विभाग र पर्यटन मन्त्रालयका १/१ जना सदस्य टोलीमा रहेका छन्। त्यसैगरी नेपाली सेनाका दुईजना चिकित्सक, एकजना पारामेडिकल अफिसर र एकजना एयर लाईजन अफिसर समेत उद्दार टोलीमा छन्। प्रहरीको बिशेष ब्युरोका एसपी सुदिप गिरीको नेतृत्वमा एकजना डिएसपी र एकजना नायव निरीक्षक टोलीमा छन्।
प्रधानमन्त्री केपी ओलीले अफगानिस्तानमा आत्मघाती आक्रमणमा मृत्यु भएका नेपालीको शव लिन निमगको जहाज पठाउन निर्देशन दिएका थिए। त्यस लगत्तै परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवहाक राजदूतलाई सोमबार नै अफगानिस्तान पठाएको थियो ।अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती बम आक्रमणमा १२ नेपाली सहित १४ जनाको मृत्यु भएको थियो।
विमानमा विपदमा परेका र नेपाल फर्किन चाहनेहरुलाई समेत ल्याउने सरकारले तयारी समेत गरेको छ ।