
धरान / सरकारले साउनवाट किसानलाई महँगो खालको मोबाइल फोन र सिम कार्ड निःशुल्क उपलब्ध गराउने भएको छ। पहिलो चरणमा सुनसरी, धनकुटा , सिरहा, काभ्रे , बारा, रुपन्देही, बाँके र जुम्लाका किसानलाई मोवाईल फोन वितरण गर्ने भएको हो । त्यसैगरी दोस्रो चरणमा संखुवासभा, झापा, मोरङ, सप्तरी, महोत्तरी, चितवन, सुर्खेत र कैलालीमा र तेस्रो चरणमा दार्चुला, डोटी, रुकुम, दाङ, मुस्ताङ, कास्की, पाल्पा, धादिङ र दोलखा जिल्लाका किसानलाई वितरण गरीने भएको हो । एउटा जिल्लामा ५० वटा मोबाइल सेट किसानको समूहलाई वितरण गरिनेछ। एउटा जिल्लामा ५० जना किसान सदस्य रहेको समूहलाई २० हजार रुपैयाँ पर्ने एन्ड्रोइड स्मार्टफोन, एक थान किसान सिम र सय रुपैयाँ बराबरको ब्यालेन्स सुविधा उपलब्ध गराउने सरकारी तयारी छ ।
मोवाईल सँगै एक थान वर्षा नाप्ने यन्त्र , एक थान तापक्रम नाप्ने थर्ममिटर र सिममा प्रत्येक महिना १५ मेगाबाइटको डाटा पनि निःशुल्क उपलब्ध गराइनेछ। यसका लागि तयारी अन्तिम चरणमा पुगेको कृषि मन्त्रालयले जनाएको छ ।
सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्न, तरकारी, तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती प्रविधि, बजारको अवस्था, पशुपालन, रोग तथा निदानलगायतका सुविधा किसानलाई निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ।