कोईरालाको अवस्था गम्भिर
- असार २२, २०७३
- ब्लाष्ट खबर
धरान / ओम अस्पतालमा उपचाररत कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाको अवस्था गम्भीर भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
कोइरालालाई हृदयाघातको आशङ्का गरिएको थियो तर उनको फोक्सोको निमोनिया रहेको पाईएको उपचारमा संलग्न डा. लव जोशीले जानकारी दिए ।
कोईरालाको अहिले रक्तचापको अवस्था ९०-६० र पिसाब बन्ने क्रम प्रतिघन्टा ५० एमएल रहेको अस्पतालले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सक डा. जोशीले कोईरालाको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरिएको तर अवस्था भने गम्भीर एवं नाजुक रहेको वताएका छन् ।
कोइरालाको उपचारमा चिकित्सकहरु अर्जुन कार्की, भगवान कोइराला, युएन पाठक, लवजोशी, श्याम महर्जन, सुवास आचार्य, महेश भट्टराई, रवीन्द्र श्रेष्ठ, रावल पाठक, पिके क्षेत्री, हरिकिशोर श्रेष्ठ, हरिश जोशीलगायत १५ जनाभन्दा बढी संलग्न रहेको अस्पतालले जनाएको छ ।
कांग्रेस सभापति शेरवहादुर देउवाले कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतमा लैजान प्रस्ताव गरेका थिए तर स्वास्थ्य स्थिर नरहेका कारण सम्भव नभएको अस्पतालले जानकारी दिएको छ ।
महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्था जानकारी लिन अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका शीर्ष नेता पुगेका छन् ।
प्रधानमन्त्री ओलीले कोइरालाको उपचारमा कुनै कमी हुन नदिन चिकित्सक एवम् अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।