ताप्लेजुङ/ताप्लेजुङको सावादिन गाविसमा गएराति गएको पहिरोले तमोर नदि थुनिएर खोलाको धार परीवर्तन हुँदा नदि किनारमा रहेका तीन वटा बजारहरु जोखिममा परेका छन् । खोला थुनिएर वारीपटिको फुरुम्बु गाविसमा रहेको मितलुङ बजार नजिकै भएर बग्न थालेपछि मितलुङ बजार सहित तमोर नदि किनारमा रहेका हान्द्रुङ र दोभान बजार पनि जोखिममा परेको हो । taplejung   राति करीव दुई बजेको समयमा तमोर नदि पारी सावादिन गाविसको नाक्ला भिरबाट पहिरो झरेपछि तमोर नदि केहि समय थुनिएको होे । अहिले खोलाको धार परीवर्तन भई बग्न सुरु भए पनि थुनिएको भाग पुर्ण रुपमा नखुलेकाले सँगै रहेको मितलुङ बजार सहित केहि किलोमिटर तल नदि किनारमा रहेको दोभान र हान्द्रुङ बजार पनि जोखिममा रहेको प्रहरीले बताएको छ । मितलुुङ बजारमा रहेका स्थानिय शिक्षक चन्द्र तामाङले मितलुङ बजारको तल्लो भाग पुरै थुनेर पानी बस्ती तिर पस्न थालेको जानकारी दिएका छन् । नदी थुनिएर बनेको पोखरीको भागबाट पानी निकास हुन थालेको भएपनि थप पहिरो झर्ने क्रम जारी रहे बस्ती बगाउने संभावना उच्च रहने उनको भनाई छ । अहिले मितलुुङ बजारका स्थानीय बजार छाडेर माथिल्लो भागमा सर्न थालेका छन् भने दोभान र हान्दु्रङका स्थानियलाई पनि सचेत भएर बस्न आग्रह गरीएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुुख ईन्सपेक्टर शैलेन्द्रकुुमार यादवले बताए । मितलुङ बजारमा २१ घर रहेका छन् भने हान्द्रुङमा ३० भन्दा बढि र दोभानमा ७० भन्दा बढि व्यापारीक घरहरु रहेका छन् । घटना स्थलमा सिवा प्रहरी चौकिबाट प्रहरी पुगिसकेको प्रमुख यादबले बताए । अहिले मितलुङ बजार नजिकैको जिवन लाबुङ र दिलबहादुर लाबुङको घर डुवानमा परेको छ भने जिवन लाबुङको एक हल गोरु रातिनै बगाएको प्रहरीले बताएको छ । सो स्थानको थप क्षतिको विवरण भने आउन बाँकिनै रहेको छ ।ताप्लेजुङबाट नेपाली सेनाको टोली पहिरो प्रभाबित क्षेत्रमा उद्धार गर्न खटिएको छ ।