शनिश्चरे/बक्राहा खोलाबाट पिडीत बनेका दक्षिणपूर्वी मोरङका बासिन्दालाई राहत वितरणका क्रममा पछिल्लो पटक नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियूको केन्द्रीय कमिटी समेतको पहलमा राहत वितरण भएको छ ।
जसमा गोविन्दपुर – ८ का १ सय ६२ र डायनिया १ र ५ का १ सय ७६ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न प्रदान गरिएको मोरङ अध्यक्ष गोकर्ण घिमिरेले जनाए ।
अनेरास्ववियूको मोरङ जिल्ला कमिटिको व्यवस्थापनमा भएको राहत वितरण कार्यक्रममा मोरङ क्षेत्र नम्बर १ का सांसद ऋषिकेश पोख्रेल, अनेरास्वबियु केन्द्रिय कमिटी अध्यक्ष नविना लामा, उपाध्यक्ष शैलेश लामा, सचिव मक्करबहादुर खड्का, सचिवालय सदस्य भाष्कर खनाल लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै, नेपालको एकमात्र महामण्डलेश्वरको उपाधि पाएकी भारतको जूना अखडाकी महामण्डलेश्वर पथरीशनिश्चरे निवासी स्वामी हेमानन्द गिरी (हेमा ढुंगाना) महाराजले आफ्नो नीजि लगानीमा हसन्दह र अमरदहका बाढी पिडीत ५० घरपरिवारलाई २५ हजार रुपैयाँ बराबरको ५० थान कम्बल वितरण गरेकी छन् ।
पथरीशनिश्चरेस्थित रेडियो सिम्रीक र ओएमएम संस्थाको संयुक्त पहलमा हसन्दह र अमरदहमा निशुल्क स्वास्थ्य शिविर समेत गर्दै राहत वितरण गरिएको छ ।
गत साउन ८ गते बक्राहा खोलामा आएको बाढीले हसन्दह ३ जयनगरको बाँध कटान गरी गाउँमा पस्दा हसन्दह, अमरदह, गोविन्दपुर, डायनिया लगायतका क्षेत्रका सयौ घरपरिवार बिस्थापित भएका छन् ।
सामाजिक क्षेत्रमा सक्रिय संस्था न्यानो अभियान उर्लाबारीले बक्राहा खोलाबाट पिडीत बनेका राजघाट ३ का १७ सन्थाल परिवारलाई राहतस्वरूप चिउरा, भुजा, चाउचाउ, पानी र फर्म (ओछ्याउने म्याट) वितरण गरेको छ ।
अभियानका आर्थिक संयोजक एवं सञ्चारकर्मी तेजन खड्काको अगुवाइमा पीडितलाई प्रतिपरिवार दुई केजी भुजा, तीन केजी च्युरा, एक कार्टुन पानी, चाउचाउ र एक एक वटा फम वितरण गरिएको हो ।