इलाम/दैवी प्रकोप उद्धार समिति इलामले जिल्लाका विभिन्न दैवी प्रकोप पीडितलाई सात लाख रुपैंयाँ राहत वितरण गरेको छ । उद्धार समितिले आगलागी, बाढी पहिरो, चट्याङ्ग, हावाहुरी र भूकम्पपीडितलाई समेत गरी यो वर्ष एक लाख नौ हजार रुपैंयाँ वितरण गरेको इलामका प्रमुख जिल्ला अधिकारी तथा दैवी प्रकोप उद्धार समितिका अध्यक्ष जनकराज दाहालले जानकारी दिए । यसरी राहत पाउनेहरुमा आगलागीको १९ घटनाका पीडितलाई जनही पाँच हजारका दरले ९५ हजार, चट्याङ्गबाट मृत्यु भएका तीन जनाका परिवारलाई ४० हजारका दरले एक लाख २० हजार, पहिरोपीडितलाई ३६ घर परिवारलाई पाँच हजारका दरले एक लाख ८० हजार रुपैंयाँ राहत रकम उपलब्ध गराएको छ । pahiro यस्तै उद्धार समितिले हावाहुरीले क्षति पूगेका तीन घरलाई जनही पाँच हजारका दरले १५ हजार, भूकम्पबाट घरमा पूर्ण क्षति भएका १७ घर परिवारलाई जनही १५ हजारका दरले दुई लाख ५५ हजार र बाढी पहिरोमा मृत्यु भएका एक जनाका परिवारलाई १४ हजार रुपैंयाँ राहत प्रदान गरिएको उद्धार समितिले जनाएको छ । यहि साउन महिनाको अविरल वर्षाका कारण पहिरोको जोखिममा रहेका इलाम जिर्मले र इरौटारका पाँच घरलाई सुरक्षित स्थानमा सारिएको उद्धार समितिले जनाएको छ । उद्धार समितिले पहिरो क्षेत्रका बासिन्दालाई भेटी सुरक्षित स्थानमा सारिएको उद्धार समितिका अध्यक्ष दाहालले बताए ।