तरहरा/जग्गा पास गर्ने क्रममा राजश्वमा व्यापक भ्रष्टाचार हुने गरेको भन्ने समाचारमा ध्यानाकर्षण भएर सुनसरी जिल्ला प्रशासन कार्यालयले यसबारे जवाफ माग्दै पठाएको पत्रलाई सुनसरी मालपोत कार्यालयले बेवास्ता गरेको छ ।

मालपोत कार्यालयमा हुने भ्रष्टाचारबारे ब्लाष्टले पटक–पटक समाचार प्रकाशन गरेको छ । समाचार प्रकाशन भएसँगै जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै लिखित पत्र पठाउँदै जवाफ मागे पनि मालपोत कार्यालयले अहिलेसम्म जवाफ पठाएको छैन । ‘हामीले पठाएको पत्रको जवाफ अहिलेसम्म आएको छैन ।’ प्रुमख जिल्ला अधिकारी मोहन चापागाईंले भने । ‘राजश्वमा किन भ्रष्टाचार भयो ?’ भन्दै मालपोत कार्यालयबाट लिखित जवाफ माग गरेको चापागाईंले बताएका थिए ।
पछिल्लो समयमा लेखापढी व्यवसायी नारायण कोइरालालाई बचाउ गर्न केही सामाजिक अगुवाहरुले चलखेल गर्न थालेको स्रोतले बताएको छ । गत असार २८ गते पदमा कोलनीको नाममा पास भएको इटहरी–९ एकम्बामा कुन्तादेवी श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ६८, ७० र ४३१ को ५ बिघा १४ कठ्ठा जग्गाको राजश्वमा व्यापक भ्रष्टाचार भएको समाचार ब्लाष्टमा प्रकाशित भइसकेको छ । जग्गा पास गर्ने क्रममा कोलनीका तर्पmबाट राजुप्रसाद कँडेलले २४ लाख १० हजार दिए पनि साढे ११ लाख राजश्व मात्र काटिएको थियो ।
राजश्वबापत करीब ३७ लाख रुपैयाँ तिर्नुपर्नेमा कर्मचारीहरुले कागजात मिलाएर कँडेलबाट २४ लाख मात्र लिई साढे ११ लाख राजश्व काटिदिएका थिए ।
कर्मचारी शिवहरि पोखरेल, मालपोत अधिकृत दधिराम गुरागाईं र मालपोत प्रमुख विनोदकुमार पोखरेलको निर्देशनमा लेखापढी सेन्टरका कोइरालासमेत मिलेर राजश्वको दुरुपयोग हुने गरेको भन्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयमा उजुरी परेपछि अख्तियारले आइतबार नै आवश्यक कागजातसमेत नियन्त्रणमा लिइसकेको छ ।