धरान /मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीलाई एक महिलाले आदालतको मानहानी गरेको भन्दै मुद्धा दर्ता गराएकी छिन् ।जिल्ला अदालतको आदेश अबज्ञा गरेको भन्दै मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध गत बुधबार मुद्दा दर्ता गराएकी हुन । जिल्ला अदालतले दिएको आदेशको अवज्ञा गरेकाले कारबाहीको माग दाबी गर्दै हमालले मुद्दा दर्ता गरेको अदालत स्रोतले जनाएको छ । adalat सो मुद्दाउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश जगतप्रसाद श्रेष्ठले भण्डारीमाथि १५ दिने म्याद जारी गरेका छन् । निवेदकको मागदाबीअनुसार आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए स्वयम् उपस्थित भई लिखित जवाफ पेस गर्न आदेश गरिएको अदालतले जनाएको छ । मिरकोट–५ को ३७ रोपनी जग्गाको विषयमा मिरकोट–५ की हमालले सोही ठाउँका मोहन अधिकारीविरुद्ध मुद्दा दिएकी थिईन । जिल्ला अदालतले गत २०७१ मङ्सिर १७ मा हमालको नाममा सो जग्गा नामसारी गर्न फैसला गरेको थियो । सोही मुद्दाउपर पुनरावेदन अदालतले गत जेठ ९ गते हमालको पक्षमा फैसला गरेको थियो । सोहीअनुसार अन्तिम आदेश पाउन हमालले गत असार २६ गते निवेदन दिएकी थिईन । अदालतले पनि सोही दिनमा मालपोत कार्यालयलाई आदेश कार्यान्वयन गराउन पत्र पठाएको थियो । तर एक महिनासम्म पनि मालपोत कार्यालयले आलटाल गरेपछि हमालले अदालतलाई मानहानि हालेकाले भण्डारीउपर सजाय माग गर्दै मुद्दा दायर गरेकी हुन । मुद्दामा मालपोत अधिकृत भण्डारीले अनावश्यक हप्कीदप्की गरेको ब्यहोरासमेत उल्लेख गरिएको छ । जिल्ला अदालतको मानहानि गरेको ठहरेमा एक महिना कैद, रु एक हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।रासस