maoist-mantri काठमाडौँ /  प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । विस्तारित मन्त्रिपरिषद्मा जनार्दन शर्मा ऊर्जा, सुरेन्द्र कुमार कार्की(राम)सूचना तथा सञ्चार, हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास, अजयशङ्कर नायक कानुन, न्याय तथा संसदीय मामिला र धनीराम पौडेल विना विभागीय ले मन्त्री पदको शपथ लिएका छन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारी उपस्थित रहेका थिए । यस लगत्तै  प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त चारजना राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराए  । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्री श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विकलाई शपथ गराएका हुन । वर्तमान मन्त्रिपरिषद्मा राज्यमन्त्रीत्रय जबेगुले सङ्घीय मामिला तथा स्थानीय विकास, भगतले ऊर्जा र तामाङले  कृषि विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन । राज्यमन्त्री विकलाई भने अहिले कुनै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । उनीहरु चारैजना नेकपा माओवादी केन्द्रका सांसद हुन । समारोहमा प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्रीलाई फूलमाला र टीका लगाएर स्वागत गरे । समारोहमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा तथा अन्य मन्त्री उपस्थित थिए ।