चितवन । चितवनको कुमरोजमा भाले गैंडाले हानेर शुक्रबार अर्को भाले गैंडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत इचर्नी पोष्ट नजिकै गैंडाले हानेर भाले गैंडा मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । उनका अनुसार इचर्नी र ढुंग्रेखोलाको दोभानमा करिब ७ मिटर अग्लो ठाउँबाट अर्को भाले गैंडाले लडाउँदा साँझ पाँच बजेतिर गैंडाको मृत्यु भएको हो । समुदायमा आधारित वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठक गैंडा रुखको जरामा अड्किएको अवस्थामा भेटिएकाले हात्तीको सहायतामा निकालिएको बताउँछन् । जुध्दै जुध्दै अग्लो स्थानबाट दुइटै गैंडा खसेपछि पनि फेरि हानेर मारेको प्रत्यक्षदर्शीले बताए । स्थानीय गोठालाहरुले गैंडा जुधेर खसेको देखेपछि निकुञ्जलाई खबर गरेका थिए । अहिले गैंडाको पोष्टमार्टमका लागि निकुञ्जका चिकित्सकको टोली पठाइएको छ । चितवन निकुञ्जका अनुसार गएको बर्ष विभिन्न कारणले २५ गैंडा मरेको जनाउको छ । २१ वटा प्राकृतिक कारणले र दुईवटा गैंडा तस्करको गोलीबाट मारिएको थियो भने २ वटा गैंडा करेन्ट लागेर मरेको जनाएको छ । चितवन निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा ६०५ वटा रहेकोमा एक दर्जन जति शुक्लाफाँटा वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको छ निकुञ्जले जनाएको छ ।