काठमाडौं । विश्व बैंकले नेपालका सडक कालोपत्रे गर्न भित्र्याएको ‘ओटासिल’ प्रविधि असफल भएको छ। कालोपत्रे छोटो समयमै उप्किन थालेपछि सडक विभागले यो प्रविधि पूर्णरूपमा त्याग गरिसकेको छ।सडक भत्किन थालेपछि सडक विभागले ओटासिल प्रविधि त्याग गरेको भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए। सडक विभागले आर्थिक वर्ष ०६०र६१ मा सात करोड रुपैयाँ खर्चेर ओटासिल गरेको गोरुसिंगे हुदै सन्धिखर्क सडक पटकपटक मर्मत गरी टिकेको थियो। त्यसपछि विभागले ओटासिल गरेको पाल्पा हुदे तम्घास, तेह्रथुमको वसन्तपुरहुदै म्याङलुङ, सुर्खेत हुदे जुम्ला, बाग्लुङ हुदे प्युठान, सिरहा उदयपुर जोड्ने मिर्चैयाहुदै कटारी हुदै घुर्मी, सुर्खेतको छिन्चुबाट जाजरकोटसहितका आधा दर्जनभन्दा बढी सडक ओटासिल गरेको थियो। यी सबै सडक दुई वर्ष पनि टिकेनन्। आव ०७२र७३ बाट सुरु भएको पाँचबर्र्से योजनाअन्तर्गत डोलिडारले ७५ जिल्लामै ग्रामीण सडक निर्माण र स्तरोन्नतिको कार्यक्रम सञ्चालन गरेको छ। यो कार्यक्रमअन्तर्गत हाल ५९ वटा सडकका सात ७० किलोमिटरमा ओटासिल भइरहेको छ। यसमध्ये विभिन्न १० वटा सडकका ९० किमि मात्रै पूूरा भएको डोलिडारले जनाएको छ। विश्व बैंकको सहयोगमा सञ्चालित यो कार्यक्रमअन्तर्गत डोलिडारले ४९ वटा सडकको ६ सय ८० किमिमा ओटासिल गरिरहेको छ। डोलिडारले गत वर्ष १७ सय किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्दा ओटासिलमा मात्रै ६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको थियो। विश्व बैंकले परीक्षणका रूपमा नेपाल भित्र्याएको यो प्रविधि नेपालमा असफल भए पनि विश्व बैंकले लगानी गरेका धेरैजसो सडकमा एक दशकदेखि यही प्रविधि प्रयोग गरिँदै आएको छ। पछिल्लो समय सरकारको लगानी भएका कतिपय सडकमा समेत यो प्रविधि प्रयोग भएको छ। असफल भएको जान्दाजान्दै अहिले पनि नुवाकोटको मान्द्रेढुंगा
हुदै खड्का भञ्ज्याङको साढे १२ किलोमिटर सडकमा ओटासिल भइरहेको छ। ओटासिल प्रविधि नेपालमा असफल भएको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए। ग्रामीण तथा कृषि सडकमा डोडिलारले भने यही प्रविधि प्रयोग गर्दै आएको छ। ग्राभेलमाथि अलकत्रा छरेर गिट्टीलाई सिल गर्ने कामै ओटासिल प्रविधि हो। यो प्रविधिबाट थोरै लगानीमा धेरै सडक बनाउन सकिन्छ। ओटासिल सडक विभागले प्रयोग गरिरहेको एस्फाल्ट पिचको तुलनामा ६० प्रतिशतसम्म सस्तो हुन्छ। यसलाई प्रयोग गर्ने विधि नै उपयुक्त नभएकाले ओटासिल गर्न छाडेको विभागका सहप्रवक्ता सिंहको भनाइ छ। यो प्रविधि सडकमा बिछ्याइएको ग्राभेल टिकाउन र कम सवारी गुड्ने, धेरै लोड नहुने स्थानमा मात्र प्रयोग गर्नुपर्ने उनले बताए। विश्व बैंकका एक अधिकारीका अनुसार संसारमा चलेको यो प्रविधि नेपालमा पनि प्रयोग गरिएको हो। ती अधिकारीका अनुसार विश्व बैंकले नेपालमा सन् २००५ देखि सुरु गरेको यो प्रविधि प्रयोग गरेर सडक विभागबाट मात्रै नेपालको पश्चिमी क्षेत्रमा आठ सय किलोमिटर सडक ओटासिल गरिएको छ। नेपालमा यसको प्रयोग राम्रो भयो वा भएन भन्नुभन्दा पनि यसको प्रयोगसम्बन्धी प्रतिवेदनले के देखाएको छ भनेर हेर्नुपर्ने बुझाइ विश्व बैंक अधिकारीको छ। नेपालमा प्रयोग गरिएको यो प्रविधि कुन ठाउँमा उपयुक्त हुन्छ र प्रविधिक रूपले उपयुक्त मानिएको स्थानमा मात्रै प्रयोग हुनुपर्ने बुझाइ विश्व बैंकका एक अधिकारीको छ। उनले नेपालमा ग्रामीण सडक तथा पूर्वाधारसहितको ओटासिल सडक हेर्ने आधिकारिक व्यक्ति संयुक्त राज्य अमेरिकामै बस्ने भएकाले पनि आफूले आधिकारिक रूपमा बोल्न नमिल्ने प्रस्ट पारे। विश्वमा ओटासिल प्रविधि नर्वेले भित्र्याएको उल्लेख छ। नर्वेको ओटा भ्यालीमा हिउँ बढी हुने र बाटो चिप्लो भएकाले ग्राभेल राखेर त्यसलाई सिल थाल्यो। यही प्रविधिलाई ओटासिलको रूपमा अन्य राष्ट्रले पनि अंगाल्न थालेका हुन्। सस्तो प्रविधिभएकोले नेपालमा सन् २००५ पछि विश्व बैंकको सहयोगमा निर्माण भएका सबैजसो ग्रामीण सडकमा यसको प्रयोग हुँदै आएको छ। पछिल्लो समय यसको प्रयोग उचित ढंगले हुन नसकेकोले विस्तारै विस्थापित नै गर्न लागिएको भौतिक मन्त्रालयको भनाइ छ।