बिर्तामोड । पछिल्लो समय झापामा उल्लेख्य पर्यटकीय स्थल निर्माण हुने क्रम बढेको छ । झापाका प्रत्येक स्थानीय तहमा कुनै न कुनै पर्यटकीय स्थल स्थापना भइरहेका छन् । धार्मिक स्थलले समेत आफुलाई पर्यटकीय स्थलको रुपमा परिणत गर्न शुरु गरेका छन् । पर्यटकीय र धार्मिक स्थल बिकास हुँदै जाने हो भने झापालाई पर्यटकीय स्थलको हवमा कल्पना गर्न सकिन्छ ।

अहिले नाम चलेका २ दर्जनभन्दा बढी पर्यटकीय तथा धार्मिक स्थलहरु झापामा छन् । ८ नगरपालिका ७ वटा गाउँपालिका रहेको जिल्ला झापामा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र, धनुषकोटीधाम धार्मिक बिकास संस्था, कोटीहोम धार्मिक विकास संस्था, दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् । त्यसैगरी अर्जुनधारा जलेश्वरधाम, सुखानी पार्क, फनवल्र्ड, कचनकवाल, किच्चकबध, सताक्षिधाम, मिनी माउण्टेन्ड, पाउपाथिभरा, विराटपोखरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् । यी पुराना र नाम चलेका धार्मिक तथा पर्यटकीय स्थल हुन् ।

तर अहिले झापाका प्रत्येक स्थानीय तहका व्यक्तिगत लगानीमा समेत पर्यटकीय स्थल निर्माण भइरहेका छन् । वार्ड वार्डमा समेत धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण हुने क्रम बढेर गएको छ । यसै क्रममा कनकाई नगरपालिका वडा नम्बर ८ मा व्यक्तिगत करिव ६ करोडको लगानीमा ह्याप्पी ल्याण्ड फन पार्क (सेल्फी डाँडा) सञ्चालनमा छ भने बिर्तामोड –९ मा ३ करोडको लगानीमा उज्यालो चिन्तन चौतारी निर्माणको क्रममा छ ।

त्यसैगरी कनकाई नगरपालिका वडा नम्बर ८ र ९ को सिमाना बिरिङखोला किनारमा रमणीय वनभोज स्थल स्थापना भएको छ । त्यसका लागि कनकाई नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा ५ लाख रुपैयाँ छुटएको छ । पर्यटन विकास तथा संस्कृति प्रवर्धनमा कनकाई नगरपालिकाले यस बर्ष एक करोड रुपैयाँ छुटएको छ । झापाको दक्षिणीे गाउँपालिका झापाको रानी सामुदायिक वन समुहमा रहेको सिमसार पोखरीलाई प्रदेशनम्बर १ कै ठुलो सिमसार क्षेत्र बनाउने अभियान शुरु भएको छ ।

१०४ हेक्टर क्षेत्रमा फैलिएको सो सामुदायिक वनमा अहिले पनि १५ हेक्टर क्षेत्रमा सिमसारयुक्त पोखरी रहेको छ । पोखरीमा माछापालन गरिएको रानी सामुदायिक वन समुहका सचिव भवेन्द्र भण्डारीले बताए । सो वन समुहमा लोपोन्मुख सन्थाल जातिको संस्कृति झल्कने कलाकृति र नाचगान प्रस्तुत गरिने तथा नेपालमै पहिलो संन्थाल होमस्टेको रुपमा विकासित गरिने भएको उनको भनाई छ ।

झापा गाउँपालिका नेपालमै बढी सन्थाल बस्ती भएको गाउँपालिका समेत भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । गाउँपालिकाकै एकमात्र सामुदायिक वनलाई काठ दाउरा भन्दा पनि पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्न पिकनिक स्पट , भ्यु टावर , जडिबुटी खेती , चिडियाघर लगायातको क्षेत्रका रुपमा विकसित गरिदैै लैजान गुरु योजना सार्वजनिक गरिएको छ । झापा गाउँ पालिकाले आव २०७५/७६ का लागि पर्यटनमा ४ लाख ८० हजार छुट्टाएको छ । कनकाई नगरपालिका वडा नम्बर ८ सुरुङ्गामा २०७४ पुस देखि सञ्चालनमा आएको ह्याप्पी ल्याण्ड फन पार्क (सेल्फी डाँडा) करिव ६ करोडको लगानीमा शुरु गरिएको सञ्चालक दिनेश शिवाकोटीले बताए । सो स्थानमा कृतिम ७० फिट अग्लो डाँडा बनाइएको छ । सो पर्यटकीय स्थलमा धरान, बिराटनगर, सुनसरी, ताप्लेजुङ, इलाम, पाँचथर, झापा त्यसैगरी भारतको विहार, सिलीगुडी, दार्जिलिङलगायतका स्थानबाट शनिबार र छुट्टीका दिन ३ हजार ५ सयदेखि ४ हजारसम्म पर्यटक आउने गरेको सञ्चालक शिवाकोटीले बताए ।

उनले अन्य दिन पनि ९ सयदेखि २ हजार सम्म पर्यटक आउने गरेको जानकारी दिए । ४ विगाहा क्षेत्रफलमा फैलिएको फन पार्कको सेल्फिडाँडामा एकपटकमा ४० जनाले सेल्फि लिन सक्ने उनले बताए । सो क्षेत्रमा रहेको पोखरीमा विभिन्न रंगका माछाहरु छन् । पोखरीमा पुलको समेत ब्यवस्था छ । यसै हप्तादेखि १२ डी सिनेमा हल स्थापना गरिने उनले बताए । ‘४५ फिटको धरहरा निर्माण हुदै छ’ सञ्चालक शिवाकोटीले भने ‘आइफल टावर निर्माण हुँदै छ जसमा जन्मदिन मनाउन सकिन्छ ।’ सञ्चालक दिनेश शिवाकोटी पोखरामा बसेर धेरैबर्ष गार्डेन डिजाइनीङमा काम गरेको हुनाले आफ्नै ठाउँमा केही गरौं भन्ने उदेश्यले विवेक शिवाकोटी र उनले यस पर्टटकीय स्थल निर्माण गरेको बताए । केहि जग्गा लिजमा समेत लिएर सञ्चालन गरिएको फन पार्कमा प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ ।