
धरान / बर्दिया र कैलाली जिल्लाको बीचबाट बग्ने कर्णाली नदीमाथी २५ वर्ष पहिले चिसापानी घाटमा निर्माण गरिएको कर्णाली पुल सवारी आवतजावतका लागि मात्र होईन पर्यटकहरुका लागि पनि आकर्षणको ठाँउ बनेको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने कर्णाली पुलको लम्बाई ५ सय मिटर र चौडाई १० मिटर रहेको छ । पुलको बीच भागमा ठडिएको एउटा पिलर (खम्बा)मा स्टिलका तारहरु बाँधेर जापानको कावासाकी हेवी इन्डस्ट्रिजले यो पुल निर्माण गरेको हो । यस प्रविधीबाट निर्माण गरिएको नेपालको यो पहिलो पुल मान्छि ।
बाँकेदेखी चिसापानी पुग्न सवारी साधनमा झण्डै तीन घण्टाको समय लाग्छ । बर्दिया राष्ट्रिय निकुन्ज छिचोल्ना साथ कर्णाली पुलको गगनचुम्बी पिलर (खम्बा)ले यात्रुहरुको ध्यानकर्षण गराउछ । यहाँ गाडी नै जाम गरेर पुलका दुबै किनार र बीच भागमा तस्वीर खिच्नेहरुको भीड लागेको हुन्छ । पुलबाट कर्णाली नदि बगेको दृष्य उतिकै मनमोहक छ । नेपालमा सबभन्दा बढी बाघ रहेको बर्दिया राष्ट्रिय निकुन्ज यही क्षेत्रमा पर्छ । यहाँ बाघ, मृग हरिण, हेर्न पाईन्छ । कर्णाली पुल पार गरेर कैलालीको चिसापानी बजारका कर्णाली नदी तटमा रहेका रिसोर्टहरुले पनि पर्यटकहरुलाई आकर्षित गरेका छन् । यहाँको चिसो पानी, असाला माछाको भान्साले आगन्तुकलाई सधै सम्झाई रहन्छ । यात्रा एउटा खुल्ला अध्ययन हो । यहाँसम्मको तपाईको यात्राले धेरै कुरा जीवनमा अनुभव र सिक्न पाउनु हुने छ । फुर्सद निकालेर एक पटक घुम्न निस्कदा राम्रो हुने छ ।