पथरीशनिश्चरे/नेपाल जेसीजको जनकपुरमा पुसमा हुने ४५ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष र कार्यकारी उपाध्यक्षका २ जना उम्मेदवार मोरङको पथरीशनिश्चरे नगरका रहेका छन् । जसमा अध्यक्षका उम्मेदवार अशोक शंकर र कार्यकारी उपाध्यक्षको उम्मेदवार मञ्जरी घिमिरे हुन् । दुवैजनाले नगरलाई राष्ट्यिस्तरमा चिनाउन सफल सृजनशील युवा व्यक्तित्व हुन् ।

पुस ७ देखि १० गतेसम्म जनकपुरमा हुने अधिवेशनमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवम् पथरी जेसीजका संस्थापक अध्यक्ष शंकरले अन्य ५ जना उम्मेदवारसँग प्रतिष्पर्धाका लागि दर्विलो रुपमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

सफल युवा व्यवसायी तथा सृजनशील युवाको पहिचान बनाएका शंकर युवा विकासको परियोजना नै आफ्नो जेसीज जीवनको मुख्य लक्ष्य रहेको बताउछन् । ‘युवाको सवै पक्षको विकासको नविन परियोजना छ मसँग । जेसीजमा आबद्ध भएपछि युवाहरुको व्यक्तित्वसँगै व्यवसायिक क्षमतामा बृद्धि गर्न सकिने कुरामा सवैलाई डोर्याउन सक्छु ।’ उनी पथरी, झापाको दमक र सुनसरीको इटहरीमा शंकर ज्वेलर्स सञ्चालन गरी व्यवसायिक प्रभावकारिता समेत झल्काइसकेका छन् ।

क्षेत्र ‘घ’ का निरुपित कार्यकारी उपाध्यक्ष समेत रहनु भएका पथरीशनिश्चरे १ निवासी शंकरले समाजलाई सकारात्मक बाटोमा लैजानका लागि पहिले आफु अत्यन्तै सकारात्मक र सफल बन्नु पर्ने कुरामा जोड दिन्छन् ।

‘यदि उ आर्थिक रुपमा सफल हुन सकेन भने यो समाजलाई परिवर्नन गर्न कुनै आधार हुँदैन । यसैले हरेक युवा व्यवसायिक र आत्मानिर्भर बन्न जरुरी छ ।’ सन २०११ मा पथरी जेसीजको संस्थापक अध्यक्ष शंकर २०१४ मा नेपाल जेसीजको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

भैरहवामा भएको महाधिवेशनबाट कार्यकारी उपाध्यक्ष बने । त्यसताका उनले जेसीजको प्रतिनिधित्वव गर्दै जापान वल्र्ड कंग्रेस (२०१४) फिलिपिन्स, कोरिया, जर्मन, अस्ट्रेलियालगायतका देशमा सहभागिता जनाइसकेका छन् ।

९ मतले हारेका महेशको दाउ :
‘एक व्यक्ति एक पद र एक कार्यकाल’को अवधारणामा १ रहेको जेसीजले ४० वर्षसम्मका य’वालाई व्यक्तित्व र नेतृत्व विकासको कुरामा मुख्य रुपमा जोड दिने गर्दछ । अनि ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ’ भन्ने कुरालाई मुल मन्त्र मान्छ ।

यही सन्दर्भमा सबैले आफुलाई अव्बल बनाउँदै आफ्ना प्रतिवद्धताहरुलाई ककसमार्फत सामेल गराउने गर्छन् । जसमा अध्यक्ष पदमा लागि शंकरसहित इटहरी जेसीजका महेश पौडेलले पनि प्रतिष्पर्धामा आफुलाई उभ्याएका छन् ।

पौडेल त ०१८ को राष्ट्यि अध्यक्षमा श्रीधर वस्यालसँग ९ मतको अन्तरले मात्र पराजित भएका थिए । यस वर्षको उनको पक्षमा सहमति जुटाउने प्रयत्न अलि बढी हुन सक्ने समेत देखिएको छ । जनकपुर पूर्व ‘क’ क्षेत्र रहेकाले सो क्षेत्रबाट ३ जना अध्यक्षका प्रतिष्पर्धी छन् ।

जनकपुरका मनिषरमण शाह पनि प्रतिष्पर्धामा छन् । तिनैजना उम्मेदवार भएर चुनावमै जान सम्भावना चाँही कम भएको जेसीज निकटले जनाएका छन् । ‘सहमति र अस्वस्थ प्रतिष्पर्धा वढ्ने अवस्थालाई चिर्न छलफल गरेर अरुलाइ बसाउने र एकजनालाई लिएर जाने कुरामा हामी लागि रहेका छौं ।’– नेपाल जेसीजका पूर्व राष्ट्यि अध्यक्ष दमकका प्रकाशप्रसाद अधिकारीले भने । अध्यक्ष पदको प्रतिष्पर्धाका लागि बीसहजार जेसीजका अरुणेश्वर खनाल, काभ्रे जेसीजका विकास मानन्धर र बाग्लुङ जेसीजका सुदिप राजभण्डारी पनि उम्मेदवार बनेका छन् ।

अशोकको प्रवल दावेदारीसँगै अर्का प्रवल दावेदारका रुपमा महेश पौडेल देखिएका छन् । ‘ख’ क्षेत्रबाट भनें अरुणेश्वर दर्विलो उम्मेदवार भएको बुझिएको छ ।

मञ्जरीको जोड :
उता, मन्तव्य कलामा माहिर निडर स्वभावकी पथरीशनिश्चरे १० निवासी मञ्जरी घिमिरे जेसीजको कार्यकारी उपाध्यक्षको एकमात्र महिला उम्मेदवार बनेकी छिन् । नेपाल जेसीजकी पूर्व उपाध्यक्ष घिमिरेसँग अन्य ९ जना पुरुष प्रतिष्पर्धी रहेका छन् ।

स्टेज चढेपछि माहौल नै तताउने क्षमता राख्ने उनी महिला अधिकार तथा समानताको पक्षमा खरो रुपमा उत्रिने गर्दछिन् ।

२००६ सालमा झुम्का जेसीजको साधारण सदस्यता लिएकी उनले बसाइसराइको क्रममा विराटनगर गएपछि २००८ बाट टङ्कीसिन’वारी जेसीजमा आबद्ध भएकी थिइन् । सन् २०१६ मा उनी त्यहाँको अध्यक्ष भइन् ।

उनी झुम्का जेसीजको संस्थापक कोषाध्यक्ष समेत बनिन् । सन् ०१७ मा उनी जेसीजको राष्ट्यि उपाध्यक्ष निर्वाचित बनेकी थिइन् । उनी नेपाल जेसीजबाट सञ्चालन भएका विभिन्नखाले तालिममा प्रशिक्षकको रुपमा समेत आफुलाई उभ्याउँदै आएकी छिन् ।

यसो त उनी जेसीज बाहेक अन्य विभिन्न सामाजिक संघ संस्थामा समेत आबद्ध रहेर कुशल नेतृत्व गरिसकेकी छिन् । नेपाल क्यान्सर सेवा समाजको संस्थापक अध्यक्ष, तालिम प्रतिष्ठानको संस्थापक अध्यक्ष तथा तालिम प्रशिक्षक, चाइन रेडियो नेपाली सेवाकी पहिलो महिला प्रस्तोता र रेडियोकर्मी हुन् ।

सामाजिक विषयमा एमए गरेकी छिन् ।