धरान । तीन वर्षअघि इटहरी राखिएको नेपाल टेलिकमको शाखा धरानमा पुनःस्थापना हुने भएको छ ।
नेपाल टेलिकम सञ्चालक समितिले धरानमा शाखा पुनःस्थापना गर्ने निर्णय गरेको सुनसरी क्षेत्र नं.१का सङ्घीय सांसद जयकुमार राईले बताए । तीन वर्षअघि धरानमा मर्मत सम्भारको काम मात्र हुनेगरी सम्पूर्ण आर्थिक कारोबारसहितको शाखा इटहरी सारिएको थियो । शाखा पुनःस्थापनाका लागि लामो समयदेखि पहल गरिरहेका राईले टेलिफोन सम्पर्कमा भने, ‘पुर्वमा सबैभन्दा धेरै राजस्व उठाउने, धेरै टेलिफोन लाईन वितरण गर्ने शाखा सारिएपछि पुनःस्थापनाका लागि चार पाँच वर्षदेखि गरिएको मेहनत सफल भएको छ । तीन चार दिनअघि मात्र निर्णय भएको छ ।’
सांसद राईका अनुसार अब इटहरीमा छुट्टै र धरानमा छुट्टै शाखा हुने छन् । यसअघि धरानसँगै डाँडाबजार, पानमारा, याङसिला, बराहक्षेत्र, भेडेटार लगायतका क्षेत्र समेत हेर्दै आएको धरान शाखा पुनःस्थापना भएपछि उदयपुर समेत हेर्नेगरी स्थापना गर्न पहल गरिएको बताए । हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सञ्चारमन्त्री रहेका बेला धरान शाखा अन्यत्र नसार्न आग्रह गर्दै मन्त्रालयमा डेलिगेसन गएका सांसद राई शाखा सरेपछि पनि निरन्तर पुनस्र्थापनाका लागि मन्त्रालय धाईरहेका थिए । सांसद राईले धरानको तीनकुने, चिन्डे डाँडा, दानाबारी लगायतका ठाउँमा टावर स्थापना गर्ने काम भईरहेको बताए ।
नेपाल टेलिकम धरानका कर्मचारी शिव धमलाका अनुसार प्रत्येक जिल्लामा एउटा लेखा कार्यालय भए हुने टेलिकमको अवधारणा अनुसार इटहरी सारिएको थियो । तर पूर्वमै बढी कारोबार हुने शाखा सारिंदा सामान्य मर्मत गर्न समेत इटहरी धाउनु पर्ने बाध्यता भएपछि स्थानीयहरुले धरानमै शाखा हुनु पर्ने माग गरेका थिए । उनी भन्छन्,‘ शाखा धरानमै पुनः स्थापना हुने निर्णय भएको जानकारी आएको छ । अब अप्टिकल फाइभर विस्तार गरेर, आवश्यक ठाउँमा टावर निर्माण गर्न सके यहाँको कारोबार अझै बढ्छ ।’