धरान । हङकङका नेपालीहरुको साझा संस्था हङकङ नेपाली महासङ्घले कार्यालय सञ्चालनका लागि सरकारी भवन निःशुल्क पाएको छ ।
हङकङको सरकारी प्रशासनले मङ्गकक स्थित ५८० नाथन रोडमा रहेको नाथन सेन्टरको १५ औं तलामा ६०० स्वायर फिटको सरकारी भवन औपचारिकताको लागी १ डलर मात्र शुल्क लिएर स्थानिय प्रशासनले एक समारोह विच हस्तान्तरण गरेको छ ।
यसरी स्थानिय सरकारवाट भवन पाउने महासंघ दोश्रो संस्था हो । यसअघि हङकङ एकिकृत नेपाली समाज (हिल्स)ले पनि यस्तै सुविधा पाएको थियो ।
सन १९९८मा स्थापना भएको महासङ्घ यसअघि आफनेै आर्थिक श्रोत जुटाएर भाडाको घरमा कोठा लिएर संचालन हुदै आएको थियो । तर यसपटक महासङ्घका अध्यक्ष टङ्क रानाको विशेष पहलमा भवन प्राप्त भएको हो । नयाँ भवनमा आयोजित हस्तान्तर कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै महासङ्घका अध्यक्ष रानाले सो भवनलाई महासङ्घमा आबद्ध सबै सामाजिक सङ्घ संस्थाको सामुहिक प्रयोजनको लागी दिईने बताए । हङकङ सरकारका प्रतिनिधि, महासङ्घका पूर्वअध्यक्षहरु तथा कार्यसमितिका सदस्यहरु उपस्थित कार्यक्रममा महासङ्घकी पुर्वअध्यक्ष रीता गुरुङले हाल प्राप्त भवन अझै सानो हुने गुनासो राखेपछि हङकङ सरकारका प्रतिनिधीहरुले चाँडै यो भन्दा ठुलो भवन पनि उपलव्ध गराउने प्रतिवद्धता जाहेर गरेका थिए ।