विजयपुर । धरान–२०, विष्णुपादुकास्थित भालढुङ्गा सामुदायिक वनमा सखुवाको काँचो रुख काटिएको विषयमा वन उपभोक्ता समुहका पदाधिकारी नै दुई पक्षमा भएपछि छानविन प्रक्रिया प्रभावित बनेको छ ।
सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष बुद्धिमान तामाङ एक पक्ष र कोषाध्यक्ष भीम बस्नेत अर्को पक्षमा भएपछि छानविन प्रभावित बनेको सव–डिभिजन बन कार्यालय बिष्णुपादुकाका प्रमुख राजेन्द्र यादवले वताए । उनले उपभोक्ता समितिलाई छानविन र कारबाही गर्न सक्ने समेत अधिकार भएकोले बन कार्यालय अगाडी नबढेको वताए ।
छानविन प्रक्रिया अगाडी बढाउन उपभोक्ता समूहको निर्णय सहित आउनुपर्छ । निवेदन आयो तर निर्णय नआएकोले पनि वन कार्यालय अघि बढ्न नसकेको उनले बताए । उनले भने, ‘२/३ दिन भित्र निर्णयसहित नआए उपभोक्ता समूहलाई नै छानविन थाल्छौँ । निर्णयसहित आए जो भएपनि वन ऐन अनुसार कार्वाही हुन्छ ।’
वन उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान तामाङ भने आफुले निवेदन दिईसकेकोले वन कार्यालयले कारबाही प्रक्रिया अगाडी वढाउनु पर्ने बताउँछन् । उनले भने ‘मेयर पहुँचवाला भएकोले बन कार्यालयमा किटानी जाहेरी दिँदा पनि कारबाही भएन ।’
मेयर तिलक राईले विज्ञप्ति नै जारी गर्दै वन समूहका कोषाध्यक्ष र आफ्नो संलग्नता नरहेको दावी गरेका थिए । मेयर राईले विज्ञप्ति निकाले कै दिन एक अडियो सार्वजनिक भएको थियो । अडियोमा कोषाध्यक्षसँग विभिन्न स्थानमा रुख हेर्न गएको बताइएको थियो ।
सव–डिभिजन कार्यालयले सोमबार कटान गरिएको क्षेत्रमा पुगेर मुचुल्का उठाएको थियो । १२ टुनामा विभाजित गरिएको काँचो सखुवाको रुखको मुचुल्का उठाएर नापजाँच गर्दा रुख १६४.२३ क्युविक फिट रहेको बन कार्यालय प्रमुख राजेन्द्र यादवले जानकारी दिए ।