धरान । सुनसरीको बराहक्षेत्र–१ चतरामा गत साउन १८ गते ९ वर्षीय बालक जब्सन राईको मृत्यु भएपछि कुटपिट गरेको आरोपमा पक्राउ परेकी निरमाया राईलाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पान्डव राजवंशीका अनुसार शुक्रबार प्रत्यक्षदर्शीहरुको बयानसहित मिसिल अदालतमा बुझाईएको हो । उनका अनुसार आइतबार अदालतमा थुनछेक बहस सुरु हुनेछ ।
निरमायाका छोरा ८ वर्षिय रोनी राई र छिमेकी बालक ९ वर्षिय जब्सनबीच चुङ्गी खेल्ने विषयमा साउन १७ गते झगडा भएको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार निरमायाले आफ्नो छोरा रोनी र उनको साथी जब्सनलाई किन झगडा गरेको भन्दै दुई/दुई सिर्कना हानेकी थिईन् । त्यहि दिनबाट विरामी परेका जब्सनको भोलिपल्ट उपचारका क्रममा निधन भएको थियो । त्यसपछि जब्सनको परिवार र आफन्तले निरमायाको कुटपिटकै कारण जब्सनको ज्यान गएको दाबी गर्दै प्रहरीमा उजुरी दिएका थिए ।
मृतक जब्सनका परिवारले निरमायाले घरभित्र लगेर समेत कुटेको दाबी गरेपनि प्रत्यक्षदर्शीहरुले भने निरमायाले घर बाहिरै सिर्कनाले दुवैलाई सामान्य तरिकाले कुटेको बताएका छन् ।