उर्लाबारी । उर्लाबारी नगरपालिकाले लकडाउनलाई आंशिक रुपमा खुकुलो पार्दै दिउँसो २ बजेसम्म बजार खुल्ला गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसि)को आईतबार बसेको बैठकले भाद्र २२ गते देखि एक सातासम्म दिउँसो २ बजे सम्म मात्र बजार, बैंक, रेमिट्यान्स, सहकारी सहितका सेवाहरु संचालन गर्न पाउने निर्णय गरेको हो ।

नगर प्रमुख तथा सिसिएमसिका संयोजक खड्ग फागोको अध्यक्षतामा भएको उक्त बैठकले कोभिड–१९ बाट बच्न सुरक्षाका मापदण्ड अपनाई बजार, बैक, रेमिटयान्स, सहकारी संस्थाहरु संचालन गर्न पाईने र उक्त बिधी नअपनाएमा तुरुन्त कारवाही गर्ने समेत निर्णय भएको उपमेयर तथा अनुगमन समितिकी संयोजक लक्ष्मीदेवी भण्डारीले बताएकी छन ।

यसैगरी बैठकले उर्लाबारी प्रवेश गर्ने सवारी तथा सामग्रीमा २४ घण्टा निगरानी गरी चालक र सहयोगीको स्वास्थ्य चेकजाँच गरेर मात्र प्रवेश दिने, कृत्रिम अभाव सृजना गरी मुल्यृवृद्धि गर्ने व्यवसायीलाई कार्यवाही गर्ने, होटल तथा रेष्टुेन्टहरुले साँझ ७ बजेसम्म खुल्ला गरी होमडेलीभरीको प्रवन्ध मात्र गर्ने, नगर क्षेत्रमा मात्र जोर बिजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्ने र स्थानिय हाट बजार, सैलुन, पार्लर, फुटसल, लज, पार्क, सभा सम्मेलन आदी पूर्ण रुपमा बन्द गरिने निर्णय भएको समेत उपमेयर भण्डारीले बताएकी छन ।

नगरले पछिल्लो समयमा छिमेकी नगरपालिकाहरुमा संक्रमितको संख्या बढ्न थालेपछि दोस्रो पटक श्रावण २५ गते राती १२ बजेदेखि लकडाउन गर्दै आएको र समुदाय स्तरमा संक्रमण नभएका कारण नगरबासीकोे आवश्यकता र मागलाई ध्यानमा राखी सुरक्षाका विधी अपनाई क्रमिक रुपमा बजार खुल्ने अवधी बृद्धि गर्दै लैजाने बताउँदै नगर प्रमुख फागोले अवस्थामा थप सुधार आएमा लकडाउनलाई खकुलो पार्ने निती भएको बताएका छन ।