धरान । व्यवसायीहरुको माग अनुसार सुनसरी जिल्लाभर आज मङ्गलबारबाट दिउँसो २ बजेसम्म बजार खुल्ला रहने भएको छ ।
जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको मङ्गलबारको बैठकले उद्योगी, व्यवसायीहरुको माग अनुसार २ बजेसम्म बजार तथा पसल खोल्न पाउने निर्णय गरेको हो । यसको अनुगमन गर्न स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा उल्लेख छ ।
सङ्कट व्यवस्थापन समितिले २ बजेसम्म बजार खुल्ला रहेपनि सैलुन, ब्युटि पार्लर, स्पा, जिमहल भने खोल्न नपाइने निर्णय गरेको छ । त्यस्तै फुटपाथ सामान बिक्री गर्न र दैनिक तथा साप्ताहिक हाट बजार लगाउन पनि नपाईने सूचनामा उल्लेख छ । होटल तथा रेष्टुरेष्टहरुलाई अनलाइन अर्डर होम डेलिभरी गर्न तथा ग्राहक आफै आएर प्याकिंग लैजाने व्यवस्था भने गर्न पाईने उल्लेख छ ।
यसअघि समितिको भदौ १७ को बैठकले बजार तथा पसल विहान ११ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको थियो । तर व्यापारीहरुले दिनभरी जसो पसल खुल्लै राख्ने गरेका थिए ।