विजयपुर । धरान–२० स्थित भालढुङगा सामुदायिक वनमा काटिएको सखुवाको रुखको सत्यतथ्य छानविन गरि दोषीलाई कारबाहीको माग गर्दै राष्ट्रिय युवा सङ्घ नेपाल धरानले ज्ञापनपत्र बुझाएको छ ।

आइतवार केहि समय धरान–८ तीनकुने स्थित सव–डिभिजन वन कार्यालय अगाडी नारा जुलुस सहित युवा सङ्घले प्रमुख राजेन्द्रप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै युवा सङ्घका केन्द्रिय सदस्य हिमाल लिम्बुले सत्य तथ्य छानविन गरेर तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे । उनले भने, ‘यहाँ सानालाई ऐन, ठुलालाई चैन नगरियोस् ।’ उनले आफुहरुले मेयरलाई बद्नाम गर्न नचाहेको भन्दै जो भएपनि कारबाहीको भागीदार हुनुपर्ने बताए । वन समुहका अध्यक्षले मेयरको नाम किटान गरेर उजुरी दिँदा समेत वन कार्यालयले कारबाहीको प्रक्रिया अगाडी नबढाउँदा वन कार्यालय प्रति नै सङ्का उत्पन्न भएको पनि वताए ।

त्यस्तै साविक नेकपा एमाले निकटको मुक्ति समाज धरानका अध्यक्ष खगेन्द्र नेपालीले सर्वसाधारण जनताले वनको मुद्दामा ३ पुस्ते तारिख धाइरहेको बताउँदै जस्तोसुकै पहुँचवाला व्यक्ति भएपनि कारबाही गर्न माग गरे ।

सव–डिभिजन वन कार्यालय धरानका प्रमुख राजेन्द्रप्रसाद यादवले प्रक्रियागत जानुपर्ने भएकोले समय लागेको बताए । उनले भने, ‘आज मात्रै अनुसन्धान अधिकृत नियुक्त गरिएको छ । अब छानविन र कारबाहीको प्रक्रिया चाँडै अगाडि बढ्छ ।’
यादवलाई डिभिजन वन कार्यालय सुनसरीले मङ्गलबारै अनुसन्धान अधिकृत तोकेको छ ।