बराहक्षेत्र । अविरल वर्षाका कारण पहिरो जाँदा बराहक्षेत्र मन्दिर क्षेत्रको वस्ती जोखिमा परेको छ ।

पहिरोका कारण बराहक्षेत्र मन्दिरसम्म पुग्ने सडक समेत अवरुद्ध भएको छ । बराहक्षेत्र नगरपालिका–१ को सो क्षेत्रमा पर्ने पुष्पलाल मध्यपहाडी सडकमा पहिरो जाँदा बराहक्षेत्र मन्दिर र छेउका १० घर जोखिमा परेको स्थानीयले बताएका छन् ।

सोमबारदेखिको अविरल वर्षाले सडकसँगै पहाडबाट पहिरो झर्दा स्थानीय बीरबहादुर श्रेष्ठको घरमा ढुङ्गा खसेको छ भने उनका छिमेकीहरु हेम श्रेष्ठ, दिपक दर्जी, आशा कार्की, दिपा, भक्त र लक्ष्मण श्रेष्ठ, मानबहादुर र हरि श्रेष्ठ तथा चन्द्रबहादुर राईको घर जोखिममा परेको बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए । ‘केही दिनदेखि लगातार भईरहेको वर्षाले कतिखेर माथीबाट पहिरो गएर बस्ती नै सखाप हुने हो निश्चित छैन्, यसैगरी पानी परिरहने हो भने पहिरो संगै डाँडामा रहेका ठूला रुखहरु लडेर घर किच्ने डरले स्थानिय राती घरमा बस्न डराएका छन्’, अध्यक्ष श्रेष्ठले भने ।

पहिरोले जोखिम भएको भन्दै वडा समिति, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको उनले बताए ।
लगातारको वर्षाले चतरा–वराहक्षेत्र सडकखण्डको ब्रम्हानन्द पुल नजिकै पहिरो जाँदा सडक बन्द भएको छ । भने चतरा बजारमा स्थानीयको घरभित्र समेत पानी पसेर चतरा जलमय भएको छ । वर्षेनी पानी परेर डुबान हुँदा समेत स्थानिय तहले सहयोग नगरेको स्थानीयवासीको आरोप छ ।