कोरोना महामारीले देशमा लकडाउन भयो । उनको दुखजिलो गर्ने बाटो पनि बन्द भयो । त्यसपछि त खानेकुराकै अभाव भयो । केही दिन त अरुले दिएको राहतले चल्यो । त्यसपछि आफुसँग भएका ५ वटा बाख्रा बेचिन् र खानेकुराको जोहो गरिन् । तर त्यो पनि सकिएपछि अहिले उनीसँग केही छैन ।
विजयपुर । धरान उपमहानगरपालिका–५ तल्लो देउरालीमा बस्ने ५७ वर्षीया आशा राईको एउटा घुँडो चल्दैन । उनी मधुमेह र उच्च रक्तचापले पनि ग्रसित छिन् ।
तर उनले औषधी उपचार गर्न पाएकी छैनन् । उनलाई रोगको उपचार भन्दा तत्काल जीवनयापनकै समस्या छ । उनी भन्छिन्, ‘पहिला त जसोजसो जीवन चलाएकी थिएँ, लकडाउन पछि बाँच्नै गाह्रो भएको छ ।’
उनको न बस्ने वासको टुङ्गो छ, न त खानेकुराको । कहिले भोकै बस्छिन्, कहिले कसैले दिएको खानाले भोक मेट्छिन् । एकातिर रोगले च्यापेको शरिर, अर्कातिर लकडाउनले बन्द गरिदिएको गरिखाने बाटो । उनी समस्यै समस्यामा छिन् । उनका श्रीमान वितेको १६ वर्ष भयो । तर उनले राज्यबाट पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता पनि अहिलेसम्म पाएकी छैनन् । उनका एक छोरी र एक छोरा छन् । श्रीमान बितेपछि तिनै छोराछोरीलाई हुर्काउन उनी वैदेशिक रोजगारीमा गईन् । भारतको अवैध बाटो हुँदै उनलाई दलालहरुले कुवेत पुर्याए । त्यहाँ ८ वर्ष काम गरिन् तर भने जस्तो कमाई भएन ।
उता कमाएको पैसा छोराछोरीलाई हुर्काउन र पढाउनमै सकियो । विदेशमा काम गर्दागर्दै घुँडाको समस्या आयो । राम्रोसँग काम गर्न नसकेपछि उनलाई नेपाल फर्र्काइयो । यहाँ आएपछि पनि घुँडाका कारण काम गर्न सकिनन् । हुर्किएको छोराले केही वर्ष त म्यान पावर कम्पनीमा काम गरेर उनलाई दुखसुख पाले तर २ वर्षअघि छोराको पनि अल्पायुमै निधन भयो । त्यसपछि एक्ली भएकी उनी मानसिक रुपमा विक्षिप्त भइन् । छोराको मृत्यु पश्चात धेरै समस्या भएको बताउछिन उनी । छोरीको विवाह भईसकेको थियो । आशा दुखजिलो गरेर दुई छाक टार्दै थिईन् । तर कोरोना महामारीले देशमा लकडाउन भयो । उनको दुखजिलो गर्ने बाटो पनि बन्द भयो । त्यसपछि त खानेकुराकै अभाव भयो ।
केही दिन त अरुले दिएको राहतले चल्यो । त्यसपछि आफुसँग भएका ५ वटा बाख्रा बेचिन् र खानेकुराको जोहो गरिन् । तर त्यो पनि सकिएपछि अहिले उनीसँग केही छैन । उनी दुखेसो पोख्छिन्, ‘घुँडा चल्दैन, आफ्नो सहारा भन्ने पनि कोही छैन । भोकले मर्छु होला जस्तो लाग्छ ।’ देशमा लकडाउन हुनुअघि उनी कोठा भाडामा लिएर बस्थिन् । लकडाउनले केही गर्न नसक्ने अवश्था भएपछि उनले कोठा भाडा पनि तिर्न सकिनन्द । त्यसपछि घरबेटीले ३ महिनाकोे भाडा छुट दिएर कोठाबाटै निकालिदिए । अहिले उनी विवाहित छोरीको कोठामा सरण लिएर बसेकी छिन् ।
छोरीपनि भाडाको कोठामा साना ४ बच्चासँग बस्छिन् । दैनिक मजदुरी गरेर आफु र लालाबालाको जीवन धान्नै धौ–धौ भएकी छोरीको कोठामा आफुपनि थपिंदा उनलाई निक्कै गाह्रो लागेको छ । लागुऔषधको कुलतमा फसेका ज्वाईं सुधार केन्द्रमा छन् । उनले एकल महिलाको भत्ताका लागि भर्खर प्रक्रिया सुरु गरेकी छिन् । भत्ता पाए त अलि सहज हुन्थ्यो भन्ने लागेको छ तर त्यतिन्जेलसम्म कसरी जीवन धान्नु भन्ने चिन्ता छ उनमा । पहिला आशासँग एउटै घरमा भाडामा बस्ने रिता राई उनको अवश्था देखेर सहयोग जुटाउन लागेकी छिन् । उनी भन्छिन्, ‘उहाँको दुख देख्दा मन थाम्न सकिंन । सहयोग जुटाउन सके उहाँलाई खाने बस्ने व्यवस्था हुन्थ्यो भनेर गुहार मागिरहेकी छु ।’