धनकुटा / धनकुटामा जिल्लाकै पहिलो नमुना शहरी सडक निर्माण भएको छ । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को भौतिक पूर्वाधार अन्तर्गतको बजेटले नमुना शहरी सडक बनाएको हो ।
धनकुटा–४ को सल्लेरी चोकदेखि नगरपालिका कार्यालयको मुख्यगेट नजिकसम्म करिब ९ सय ५० मिटर लम्बाइको सडक निर्माण गरेको छ । सडकको चौडाइ साढे ७ मिटर रहेको छ । नगरपालिकाले ०७३÷७४ देखि तीन आर्थिक वर्षमा १ करोड ८७ लाख २५ हजार रुपैयाँ बजेट छुट्याएको योजना शाखाका इञ्जिनियर मिङ्मा दोर्जे शेर्पाले जानकारी दिए ।
इञ्जिनियर शेर्पाका अनुसार नमुना सडक निर्माण गर्न पक्की सडकलाई आवश्यक पर्ने संरचना र कालोपत्रेलगायतको काम गर्दा करिब २ करोड बराबर खर्च हुने गरेको छ । आ.व.०७३÷७४ मा सडक चौडा गर्दा १९ लाख ७७ हजार ७ सय ३२ रुपैयाँ, आ.व. ०७४÷०७५ मा ग्याविन वाल, टेवा पर्खालको काम गर्दा ४३ लाख ४८ हजार ३६ रुपैयाँ खर्च भएको थियो ।
त्यस्तै आ.व.०७६÷७७ मा १ करोड २५ लाख रुपैयाँ लगानीमा प्रिमिक्स कार्पेटिङ प्रकारको कालोपत्रे पक्की सडकको निर्माण गरिएको हो । श्रीपञ्चमी चोकदेखि नगरपालिकाको मुख्य गेटसम्मको करिब ५ सय मिटर लामो सडक भने यो वर्ष निर्माण सम्पन्न गरिएको इञ्जिनियर शेर्पाले बताएका छन् । उनले प्रिमिक्स कार्पेटिङ कालोपत्रे सडकको टिकाउपन ५ देखि ७ वर्षको हुने दाबी गरेका छन् ।
आ.व.०७७/७८ मा धनकुटा–५ बिहीबारे हटियादेखि मालबाँसे, मधुगङ्गा, भीरगाउँ हुँदै हिलेसम्म रिङरोड १९ किलोमिटर सडक निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढिरहेको इञ्जिनियर शेर्पाले जानकारी दिए । करिब साढे १८ किलो मिटर कालोपत्रे सडक निर्माणको लागि विश्व बैङ्कले ४२ करोड रकम लगानी गरेर काम सम्पन्न गर्ने तयारी भइरहेको छ । त्यसैगरी चालू आर्थिक वर्षमा घुमाउने चौतारा–टेकुनाला सडकमा पक्की नाली निर्माण गरी सडक स्तरोन्नति गरिने, पात्लेखोला–बरबोटे ग्रामीण सडक, हिले ओक्मालुङ कृषि पर्यटन ग्रामीण सडकलगायतका गरी १ दर्जनको हाराहारीमा शहरी सडकहरू ग्राभेल गरेर सडकको स्तरोन्नति गरिनेछ ।
धनकुटा नगरपालिका क्षेत्रमा पक्की र कच्ची गरी कुल ३ सय ८७ किलोमिटर सडक सञ्चालनमा रहेको छ । जसमध्ये पक्की कालोपत्रे सडक २२.९५ किलोमिटर, नगर क्षेत्रभित्र पर्ने कोशी लोकमार्ग अन्तर्गतको पक्की सडक ३८ किलोमिटर र नगर क्षेत्रका कच्ची धुले सडक ३ सय २६.२१ किलोमिटर गरी कुल ३ सय ८७ किलोमिटर सडकको संरचनाको सञ्जाल चालू अवस्थामा रहेको छ । विशेष गरेर धनकुटा न.पा.को वडा नं. ५, ६ र ७ मा शहरी सडक विस्तार गर्न जरुरी रहेको स्थानीयले औंल्याएका छन् ।